PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

भारतसँगको सीमा सन्धि सम्बन्धी विवादको हल संवादबाट खोज्नुपर्ने प्रचण्डको भनाइ, कूटनीतिक प्रयासबाट इपीजीको रिपोर्ट अगाडि बढाउँ



पहिलोपोस्ट

भारतसँगको सीमा सन्धि सम्बन्धी विवादको हल संवादबाट खोज्नुपर्ने प्रचण्डको भनाइ, कूटनीतिक प्रयासबाट इपीजीको रिपोर्ट अगाडि बढाउँ
फोटो: प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय भूमिबाट नेपाल विरोधी गतिविधि नहुन् भन्ने चाहेको बताएका छन्। भारत भ्रमणमा रहेका प्रचण्डले दिल्लीमा फाउन्डेशन फर पब्लिक अबेरनेस एण्ड पोलिसीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नेपालले आफ्नो भूमि हाम्रा छिमेकीको रुचीविरुद्ध प्रयोग गर्न दिएको छैन। र, हामी पनि यस्तै सुनिश्चितता भारतबाट अपेक्षा गर्छौं,’ उनले भने। 

प्रचण्डले नेपाल र भारत दुवै प्राकृतिक तथा मानव संसाधनले सम्पन्न भएको भन्दै यी स्रोतलाई सम्पत्तिमा बदल्नुपर्नेसमेत बताए। साथै, भारत नेपालको व्यापारिक साझेदारी भएको उनको भनाइ थियो।

‘हाम्रो द्विपक्षीय व्यापार बढ्दै गएको छ। यद्यपि, भारतसँगको व्यापार घाटा निरन्तर रुपमा बढ्दै गएको छ। यो हाम्रो अर्थतन्त्रका लागि खतराको सूचक हो,’ उनले भने, ‘यो अवस्थामा नेपालको निर्यात सम्भावनालाई अनिवार्यरुपमा बुझ्न जरुरी छ। भारतीय व्यापारिक समूह तथा लगानीकर्ताहरुले नेपालको निर्यात सम्भावनाको फाइदा लिन सक्छन्। र, यो  समस्या समाधानका लागि योगदान पुर्‍याउन सक्छन्।’

नेपाल-भारत साझेदारीमा ‘क्रसबोर्डर कनेक्टिभिटी’ मुख्य ऐजेण्डा भएको उनले बताएका छन्। यसले दुई देशबिचको अर्थतन्त्रलाई नजिक ल्याउने र दुई पक्षीय व्यापारलाई प्रोत्सहान गर्ने उनको मत छ। त्यस्तै 'क्रसबोर्डर कनेक्टिभिटी'ले जनसम्पर्कलाईसमेत सुदृढ गराउँदै लैजाने उनले बताएका छन्। व्यापारिक तथा आर्थिक गतिविधिलाई बढाउन नेपालले सडक. रेलवे, जलमार्ग  र ट्रान्समिसन लाइनलगायतका कनेक्टिभिटी पूर्वाधारलाई प्राथमिकतामा राखेकोसमेत प्रचण्डले बताएका छन्। 

त्यस्तै, कृषि क्षेत्रसमेत दुई देशबिचको साझेदारीमा सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरेका छन्। यस क्षेत्रमा विगतमा भएका सहमतिको कार्यान्वयन गरेर अगाडि जानुपर्ने उनको भनाइ थियो। 

प्रचण्डले नेपाल भारतीय पर्यटकहरुलाई स्वागत गर्न तयार रहेको समेत बताए। उनले रामायण सर्किट, बुद्धिस्ट सर्किट, शिव सर्किटले दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अगाडि बढाएको बताए। 

साथै, जलवायु परिवर्तनको मामिलामा नेपाल र भारतबिच हुने साझेदारी विश्वकै लागि उदाहरण हुने भन्दै नेपालका पारिस्थितिक प्रणाली विश्वकै सम्पत्ती भएको प्रचण्डले बताए। उनले उर्जा क्षेत्रको साझेदारी दुई देशले फाइदा लिन सक्नेमा जोड समेत दिएका छन्। 

प्रचण्डले दुई देशबिच रहेको असमान सन्धीको विषयमा दुई देश मिलेर  समस्याको समाधान गर्नुपर्ने बताएका छन्। सन् १९५० सन्धी, सीमा सम्बन्धी समस्यालाई संवाद बाट टुंग्याउनुपर्ने उनको भनाइ थियो। साथै इपीजीको रिपोर्ट पनि कूटनीतिक प्रयास र सम्बादबाट अगाडि बढाउनुपर्ने उनले बताएका छन्।

प्रचण्ड तीन दिने भारत भ्रमणको सिलसिलामा शुक्रवार नयाँ दिल्ली पुगेका हुन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी भारत गएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell