PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गगन र विश्वप्रकाशको देउवामाथि हमला, ‘सरकार कसरी चलाउने देखाउँछौं भनेर ओलीलाई भन्यौं, आज कसरी चलेको छ देखिरहेका छौं’



नेत्र तामाङ

गगन र विश्वप्रकाशको देउवामाथि हमला, ‘सरकार कसरी चलाउने देखाउँछौं भनेर ओलीलाई भन्यौं, आज कसरी चलेको छ देखिरहेका छौं’

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै थापा र शर्माले विगतको सरकारले गरेको गल्ती वर्तमान सरकारले दोहोर्‍याइरहेको भन्दै समर्थन गर्न नसकिने समेत बताएका छन्।

बैठकमा धारणा राख्दै महामन्त्री थापाले पार्टी र सरकारका कतिपय काम कारबाही समाचार र सामाजिक सञ्जालबाट मात्र थाहा पाइने गरेको भन्दै आलोचना समेत गरेका छन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौँ भनेर दिएको चुनौती स्मरण गर्दै थापाले बैठकमा भने, 'हिजो सरकार कसरी चलाउनुपर्छ भनेर ओलीलाई भन्यौं तर आज कसरी चलेको छ देखिरहेका छौं। अझै कति रक्षा गर्ने सरकारको? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ। त्यसको प्रतिरक्षा गर्न सकिँदैन। संवैधानिक परिषदको विषय ट्वीट र समाचारबाट र भातृ संगठनबारे समाचारबाट थाहा पायौं। हामीले जानकारी ट्वीट र समाचारबाटै लिएका हौं। हामीले कहाँबाट थाहा पाउने पार्टी सञ्चालन र सरकार यसरी चलाउने हो कि कसरी ध्यान दिनुपर्छ।'

पार्टी सभापतिले गरेका काम बोक्न र ताली पड्काउनेमात्र भूमिका महामन्त्रीको नभएको थापाले बैठकमा बताए।

विगतको सरकारलाई उठाएका प्रश्न अहिलेको सरकारले समेत निरन्तरता दिएको भन्दै थापाले जवाफ दिन नसक्ने अवस्थामा पुगेको समेत टिप्पणी गरे। उनले भने, 'ओलीलाई हिजो जे प्रश्न उठायौं आज त्यही गरेपछि हामीले कसरी जवाफ दिने?'

पेलेर गए तथा घेराबन्दी गरिए आफूहरु चुप नबस्ने उनले बताए।

गुटभेला गरेको भन्ने देउवा पक्षको आरोपको खण्डन गर्दै थापाले २०६८ सालतिर देउवा पक्षले गरेका भेलाका तस्विर गुगलमा खोज्न समेत सुझाए। फरक मत राख्दा पार्टीबाट निकाल्नुस् भन्ने अभिव्यक्तिकी उनले खण्डन गरे। विगतमा संवैधानिक परिषदको विषयमा ओलीकफ दम्भले पार्टी विभाजन भएको भन्दै उनले कांग्रेसले पनि त्यस्तै गर्ने हो भनेर प्रश्न गरे।    

अर्का महामन्त्री शर्माले वर्तमान अर्थतन्त्रबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताए। खोप व्यवस्थापन र चुनाव सम्पन्न गर्ने कार्यमा सरकार सफल भए पनि केही महत्वपूर्ण विषयमा असफल भएको बताए। ओलीले शक्ति केन्द्रित गरेका निकायबारे निर्णय नगर्नु, सुशासन कायम नहुनु,  संघ र प्रदेश सरकारबीच पर्याप्त समन्वय सरकारले गर्न नसकेको शर्माले बताए।

भातृ संगठनलाई पूर्णता दिन अभियान सञ्चालन गर्नुपर्ने उनले बताए। यस्तै शर्माले नीति अधिवेशनको माग समेत गरे।

पार्टी र सरकार सञ्चालनबारे महामन्त्रीहरुले उठाएका विषयमा आलोचना गरिएकोमा पनि शर्माले प्रतिप्रश्न गरे। उनले विधानले तोकिएको अवधिमा विभाग बनाउँ भन्नु सभापतिलाई सहयोग हो कि असहयोग भनेर बैठकमा प्रश्न गरे। पदाधिकारीको कार्यविभाजन गरौं भन्दा सहयोग कि असहयोग भन्ने प्रश्न पनि शर्माले गरे।

शर्माले डा शेखर कोइराला पक्षलाई अनावश्यक डन्डा चलाउने काम नगर्न पनि बैठकमा चेतावनी दिए। एउटा नेताको पक्षधरता राख्न अर्कोलाई होच्याउने गरी नबोल्न पनि शर्माले सुझाए।

शर्माले भने, 'हाम्रो राजनीतिको विसंगत पाटो हो  नेतृत्वको प्रशंसा। प्रशंसाको नाममा -ॐ, जय, जगदीश हरे गरेर घण्टी नबजाऔंl अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔंl

पार्टीलाई एकढिक्का बनाएर अबको चुनाव केन्द्रित हुनुपर्ने शर्माले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell