PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पशुपति क्षेत्रमा आजबाट ब्याटमिन्टन खेल्नेदेखि साइक्लिङ गर्नेसम्मको क्रियाकलापहरुमा पूर्ण रोक



पहिलोपोस्ट

पशुपति क्षेत्रमा आजबाट ब्याटमिन्टन खेल्नेदेखि साइक्लिङ गर्नेसम्मको क्रियाकलापहरुमा पूर्ण रोक
फाइल फोटो।

काठमाडौं : पशुपति क्षेत्रमा आजबाट पौराणिक धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु गर्न पूर्ण रुपमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै आजबाट उत्श्रृङखल क्रियाकलापहरु पूर्ण रुपमा रोक लगाइएको जानकारी दिएको हो।

सो क्षेत्रमा हरेक बिहान मर्निङ वाकका नाममा धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को संगित/साउण्ड सहित जुम्बा डान्स गर्ने, साइक्लिङ गर्ने तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप विगत केही समय अघिदेखि भइरहेको बताइएको छ।

यस्ता क्रियाकलापका कारण सो क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षिहरुको दैनिक जीवन प्रक्रियामा अवरोध भइरहेको र यस क्षेत्रका बाँदरहरु आक्रामक भई बटुवाहरुलाई जथाभावी आक्रमण गर्ने तथा जंगल क्षेत्र छोडी बस्ती प्रवेश गर्ने जस्ता क्रियाकलाप गर्ने गरेको कोषले बताएको छ। यस्ता क्रियाकलापको कारण यस क्षेत्रका साधुसन्तहरुको ध्यान एवं पूजामा समेत अवरोध हुन थालेको बताइएको छ।

त्यसका साथै ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटबिरुवा, जंगल, स्मारक क्षेत्रमा रहेका संरक्षित संम्पदाहरुको समेत विनाश भइरहेकोले त्यस्ता प्रकारका गतिविधि नगर्न नगराउन कोषले सबैलाई सूचित गरेको छ। अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गरिने कोषले चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell