PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निःशुल्क



पहिलोपोस्ट

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निःशुल्क

बुटवल : लुम्बिनी प्रदेश सरकारले दुईवटा प्रादेशिक अस्पतालहरुमा निःशुल्क टिकट र बेडको व्यवस्था गरेको छ। आइतबारदेखि लागू हुने गरि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको हो।

स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पुर्‍याउने उद्देश्यले सुरु भएको निःशुल्क सेवाको आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे। कार्यक्रममा सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए। प्रदेशवासी सबै नागरिकहरुले बिरामी पर्दा सहजरुपमा उपचार गर्नु सकुन् भन्ने उद्देश्यले निःशुल्क सेवा सुरु गरेको उनले बताए।

यसअघि ओपीडी टिकटको ३० रुपैयाँ र नविकरण गर्दा १५ रुपैयाँ लिने गरिएको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लुम्बिनी र राप्ती अस्पतालमा आउने बिरामीहरुलाई ओपीडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो। त्यसका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

टिकट शुल्क नलाग्ने भए पनि बिरामीहरुले टिकट काउन्टरबाट निःशुल्क कार्ड भने लिनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए। लुम्बिनी अस्पतालमा दैनिक करिब १ हजार र राप्तीमा करिब ५ सय बिरामी आउने गरेका छन्।

रगत पनि निःशुल्क

प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सरकारले बजेटमा निःशुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ।

अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा. ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। अस्पतालमा आएका विरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्तसंचार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा निःशुल्क रगत उपलब्ध गराउने डा. ढकालले बताए।

यसअघि बिरामीका लागि दाताहरुले रगत निःशुल्क उपलब्ध गराए पनि रगत प्रयोगकर्ताले ब्याग लगायतका सामाग्रीका नाममा प्रति ब्याग ८ सय रुपैयाँ बुझाउँदै आएका थिए। लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए।

प्लाष्टिक सर्जरी सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकबाट प्लाष्टिक सर्जरी सेवा सुरु भएको छ। विभिन्न कारणले जलेका र शरीरका अंगमा चोटपटक लागेका बिरामीहरुको उपचारका लागि लुम्बिनी प्रदेशमै पहिलोपटक विशेषज्ञ सेवा सुरु गरेको अस्पतालले जनाएको छ।

हाल ५ बेडबाट सेवा सुरु भएको विभागमा एमसीएच प्लास्टिक सर्जन डा.विकेश राजभण्डारीले बिरामीको चेकजाँच र उपचार गर्नेछन्। यो विभागमा आगोले पोलेका, करेन्ट लागेर जलेका, ओठ र तालु खुइलेको, ठूला घाउचोट, औला जोडिएका र घाउका पुराना दागको समस्या भएकाले उपचार सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले बताए।

यो सेवाले विपन्न वर्गका विरामीहरु महँगा निजी अस्पताल र बुटवल बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको ढकालले बताए। सेवालाई भविष्यमा २० बेडमा विस्तार गर्ने योजना रहेको पनि उनले बताए। यसअघि हालै मात्र अस्पतालले मिर्गौला डायलाइसिस सेवा ६ बेडबाट १७ बेडमा बिस्तार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell