PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

भाजपा मुख्यालय पुगे प्रचण्ड : जेपी नड्डासँग भयो छलफल, जयशंकर पनि उपस्थित



पहिलोपोस्ट

भाजपा मुख्यालय पुगे प्रचण्ड : जेपी नड्डासँग भयो छलफल, जयशंकर पनि उपस्थित
Photo : Shailendra Mishra / DD News

काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डीबिच भेटवार्ता भएको छ। नड्डाको निमन्त्रणामा शुक्रवार नयाँ दिल्ली पुगेका प्रचण्डले आज भाजपा मुख्यालय पुगेका थिए।

मुख्यालयमा नड्डासँगै भारतका विदेश मन्त्री डा एस जयशंकरको उपस्थिति थियो भेटका क्रममा द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ। जयशंकरसँग प्रचण्डले शनिवार छुट्टै भेट गरेका थिए। यस्तै, प्रचण्डले शनिवार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि छलफल गरेका थिए।

भाजपाले पछिल्लो समय ‘भाजपा चिनौं’ अभियान चलाएको छ। जसमा भारतमा रहेका विभिन्न देशका राजदूतका साथै विभिन्न देशका राजनीतिक दलका नेतालाई मुख्यालाई आमन्त्रण गरिँदैछ। त्यसै सिलसिलामा प्रचण्डलाई पनि मुख्यालयमा बोलाइएको हो।

केन्द्रमा चीन

नेपालमा चीनको प्रभाव बढ्दै गएको ‘रिपोर्टिङ’ सत्तारुढ भाजपालाई गरिएको छ। नेपालको आन्तरिक राजनीतिमा चीनले वाम एकताका लागि प्रयास गरिरहेको बुझेको नयाँ दिल्लीले प्रचण्डलाई बोलाउनुलाई महत्वका साथ हेरिएको विश्लेषकहरुले बताएका छन्। चीनको बढ्दो प्रभाव र नेपालमा वाम एकता हुने कुराबाट नयाँ दिल्ली ‘कम्फर्टेबल’ नरहेको बताइन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड दिल्ली पुगेका हुन्। जियानचाओको भ्रमण लगत्तै हुन लागेको प्रचण्डको भ्रमणका क्रममा राजनीतिक मुद्दाले प्रवेश पाउन सक्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणका क्रममा प्रतिनिधिमण्डलसहित भाजपा मुख्यालय पुगेका थिए। उनको भाजपा मुख्यालय भ्रमण विवादमा पनि परेको थियो। चीनको प्रभाव आंकलन गरिरहेको सत्तारुढ भाजपा नेपालका राजनीतिक दलसँग राम्रो सम्बन्ध स्थापनार्थ प्रयासरत् रहेको र त्यही क्रममा देउवा र प्रचण्डलाई निमन्त्रणा दिइएको बताइन्छ। भाजपाले आउने दिनमा थप नेपाली शीर्ष नेतृत्वलाई मुख्यालय भ्रमणको निमन्त्रणा दिने सम्भावना रहेको बताइन्छ।

प्रचण्ड आजै स्वदेश फर्कने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell