PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एक वर्षमा विदेशबाट यात्रुले ल्याएको ४८० किलो सुन त्रिभुवन विमानस्थल भन्सारको नियन्त्रणमा, कति उठ्यो राजस्व?



पहिलोपोस्ट

एक वर्षमा विदेशबाट यात्रुले ल्याएको ४८० किलो सुन त्रिभुवन विमानस्थल भन्सारको नियन्त्रणमा, कति उठ्यो राजस्व?

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४८० केजी सुन राजस्वको दायरमा आएको छ। करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन विदेश गएर नेपाल फर्किएका मानिसको साथमा पाइएको हो।

यसरी सुन ल्याउँदा यात्रुले तिरेको राजस्वबापत गएको आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ सङ्कलन गरेको छ। राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्। त्यसैगरी, सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ। जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ। सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ।

१०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ। विदेशबाट फर्किएका नेपालीहरूको लागि ५० ग्रामसम्मको सुनका गहनामा दिइएको भन्सार राजस्व छुटसम्बन्धी व्यवस्थाको गलत प्रयोग गरी विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूह सक्रिय भएको देखिन्छ।

सुन ओसारपसार गर्ने गरेको सूचना आएपछि गत वर्षको मंसिर १३ गतेदेखि कार्यालयले विशेष अपरेशन नै सुरु गरेको थियो। यसक्रममा पहिलो दिनमा नै कार्यालयले ४१५ जना यात्रुबाट झण्डै २१ किलो सुन नियन्त्रणमा लिन सफल भएको थियो।

कार्यालयको अभिलेख अनुसार गत असार महिनामा दैनिक औषत ३० जना यात्रुबाट डेढ किलो सुन भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell