PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

धनबहादुरले पेटको 'खत' देखाएर बालबालिकालाई भन्थे : मैले पनि मिर्गौला दिएको हुँ, मोबाइल र पाँच लाखको लोभ देखाएर हुन्थ्यो तस्करी



पहिलोपोस्ट

धनबहादुरले पेटको 'खत' देखाएर बालबालिकालाई भन्थे : मैले पनि मिर्गौला दिएको हुँ, मोबाइल र पाँच लाखको लोभ देखाएर हुन्थ्यो तस्करी

काठमाडौं : मिर्गौला तस्करीका घटना नौला होइनन्। तर, विभिन्न तरिका अपनाएर मिर्गौला तस्करी हुने गरेको छ।

सडक बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर मिर्गौला तस्करी भइरहेको खुलेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तस्करी गर्ने पाँच जनालाई आज सार्वजनिक गरेपछि यो गिरोहको बारेमा खुलासा भएको हो।

प्रहरीले रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमल बहादुर शाही र झापाका आशिष तामाङलाई मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ गरेको छ। धनबहादुर र विजय कुँवरको मुख्य योजनामा सडक बालबालिकालाई भारत लगेर मिर्गौला झिक्ने गरेको खुलेको छ।

धनबहादुरले आफूले पनि मिर्गौला झिकेको र एउटा मिर्गौलाले पनि राम्रोसँग काम गर्ने भन्दै विश्वासमा पारेर बालबालिकाहरुलाई प्रभावित पार्ने गरेको खुलेको छ। उनीहरुले मिर्गौला दिने बालबालिकालाई काठमाडौंको होटेलमा राखेर मिर्गौलाको परीक्षण गर्ने गरेको ब्यूरोका एसपी दानबहादुर मल्लले बताए।

'सुविधा सम्पन्न होटेलमा राखेर बालबालिकाको रगत परीक्षणदेखि अन्य स्वास्थ्यको बारेमा जानकारी लिने गरेको देखियो,' एसपी मल्ले भने।

बालबालिकालाई होटलमा राख्दा बस्न र खान राम्रो व्यवस्था गर्ने गरेको खुलेको छ। त्यसपछि उनीहरुले सीमानाका हुँदै भारतको विभिन्न शहरमा बालबालिकालाई लगेर मिर्गौला प्रत्यारोपण गर्ने गरेको देखिएको छ।

भारतमा करिब दुई महिनासम्म राखेर मिर्गौला परीक्षण गर्ने गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ। यसरी मिर्गौला दिए बापत् पीडितलाई पाँच लाख रुपैयाँ र ५० हजार रुपैयाँको नयाँ मोबाइल समेत दिने गरेको अनुसन्धानमा देखिएको छ।

यसरी मिर्गौला दिन तयार गरिएका सडक बालबालिकालाई असार १५ गते भारतको कोलकाता लैजाने लागिएको थियो। तर, ब्यूरोको टोलीले सोही दिन भुपेन्द्र, विजय र बिमललाई पक्राउ गर्न सफल भयो।

त्यसपछि अनुसन्धानमा धनबहादुर र बिमलको संलग्नता भएको खुल्यो। उनीहरुलाई असार २८ गते प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

पक्राउ परेका व्यक्तिहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्यूरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell