PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विमानस्थलमा रोकिएको 'लगेज' लिन पुग्दा प्रहरीको पिछा : ठमेल पुगेर खोल्दा ४ किलो हेरोइन, कनेक्सन अफ्रिकादेखि भारतसम्म



सविन ढकाल

विमानस्थलमा रोकिएको 'लगेज' लिन पुग्दा प्रहरीको पिछा : ठमेल पुगेर खोल्दा ४ किलो हेरोइन, कनेक्सन अफ्रिकादेखि भारतसम्म

काठमाडौं : ६१ वर्षीय साउथ अफ्रिकन नागरिक ज्यक्वज एन्टोन शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। साउथ अफ्रिकाबाट दुबई हुँदै उनी भिजिट भिसामा नेपाल उत्रिएका थिए। बिहान ८ : ३० मा विमानस्थलमा ‌ओर्लिएका एनटोनको लगेज भने प्राविधिक कारणले आएन।

विमानस्थलका कर्मचारीले भोलि आउनु भनेपछि उनी लागे ठमेलतिर। ठमेलको माइल स्टोन होटलको छैटौं तलमा रहेको ६ सय १ नम्बर कोठा बुक भएको थियो। भोलिपल्ट अर्थात शनिवार आफ्नो लगेज लिन विमानस्थल पुगे एन्टोन। किनकि दुई वटा लगेज विमानस्थलमा अड्किएको थियो।

पहिलो पटक नेपाल आएका साउथ अफ्रिकन नागरिक प्रहरीको 'सर्भिलेन्सनमा' थिए। उनको गतिविधि केही शङ्कास्पद थियो। होटलमा लगेज लिएर पुगे। प्रहरी उनको फलो गरिरहेको थियो। उता सोही अवधिमा होटलमा रहेको लगेज लिन नुवाकोटका ५० वर्षीय सुकेश तामाङ बा २ ज ५६५५ नम्बरको ट्याक्सी लिएर पुगे। तामाङ विगत २० वर्षदेखि ट्याक्सी चालकको काम गर्दै आएका छन्।

उता प्रहरीले आफ्नो जाल बिछ्याइसकेको थियो। त्यही क्रममा प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो। केही महिनायता साउथ अफ्रिकन नागरिकले नेपालमा लागू औषधको कारोबार गरिरहेको खुल्दै आएको थियो। त्यही आशंकमा ६१ वर्षीय नागरिक पनि परेका थिए। नभन्दै नियन्त्रणमा लिएको लगेज खोलेर हेर्दा फल्स बटम बनाएर राखिएको अवस्थामा लागूऔषध हेरोइन भेटियो। तौलेर हेर्दा ४ किलो हेरोइन।

बरामद गरेको लागू औषधको बजार मूल्य ८ करोड रुपैयाँ भएको प्रहरीको भनाई छ। त्यसपछि तामाङले लगेज आफ्नो नभएर अरु कसैले पठाएको प्रहरीमा बयान दिए। उनलाई लगेज लिन एक भारतीय महिलाले पठाएकी थिइन्। तामाङलाई ठमेलबाट लगेज लगेर बसपार्कको दिल्ली जाने बसमा छोड्न भनिएको प्रहरीलाई बताए। यसरी सामान लगेबापत ३३ सय रुपैयाँ पाएका रहेछन् तामाङले। ती महिला र तामाङ बिच मोबाइलमा केही महिना अगाडिदेखि नै सम्पर्क भएको देखियो।

प्रहरीले सामान लिन पठाउने महिलाको खोजी गर्‍यो। ती महिला असार २५ गते नेपाल आएर काठमाडौंको बौद्धमा बस्दै आएको खुल्यो। तर उनी त्यही दिन भारत जानको लागि भन्दै विमानस्थल पुगेको खुल्यो। तर विमानस्थल पुगेर पनि उनी फेरी भारत नगएर काठमाडौं नै फर्किएकी थिइन्।

'उनलाई सायद प्रहरीले लागूऔषध पक्राउ गर्‍यो भन्ने सूचना पुगेर भारत भाग्न लागेकी थिइन्। तर फेरी सामान सुरक्षित भएको जानकारी पाएपछि फर्किएको हुनसक्ने देखियो,' लागू औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले भने।

प्रहरीले ३२ वर्षीय ती भारतीय महिलालाई तिलगङ्गाबाट पक्राउ गर्ने सफल भयो।

रोकिएन हेरोइनको तस्करी!

यसअघि पनि साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिकलाई लागूऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको थियो। उनी बौद्धस्थित एक होटलबाट ४ किलो ९ सय ग्राम हेरोइनसहित पक्राउ परेका हुन्। त्यस्तै, सोही दिन बौद्धबाट नै विदेशबाट आएको उक्त हेरोइन लिन आएका दुई भारतीय नागरिक र एक नेपालीलाई पनि पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक मुनिम सिंह, ४३ वर्षीय विक्रम जित सिंह र वीरगंजका ३० वर्षीय विक्की रौनियार रहेका छन्।

असार २ गते विदेशबाट हेरोइन बोकेर आएका ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो। दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई ब्युरोले पक्राउ गरेको थियो। यी महिलाहरू ६ वटा समूहबाट सञ्चालित भएको प्रहरी अनुसन्धानका खुलेको थियो।

ती समूह सञ्चालन गर्ने पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथमा सेतो हेरोइन र खैरो हिरोइन भेटिएको छ। बरामद लागूऔषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको थियो।

अनुसन्धानका क्रममा उनीहरू अफ्रिकाबाट दुबई र दुबईबाट नेपाल हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, यसअघिका घटना पनि उही शैलीमा नेपाललाई लागूऔषधको ट्रान्जिट बनाएको देखिएको छ। विदेशबाट लागूऔषध ल्याएर भारततिर जाने गरेको देखिएको छ।

गत भदौमा प्रहरीले २ किलो ९ सय ग्राम हेरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको थियो। पक्राउ पर्नेहरूमा २६ वर्षीय तान्जेनियाका नागरिक किमारो, दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामा र भारतका ३३ वर्षीय विजय सिंह थिए।२०७८ भदौ ३ गते गामा केप टाउनबाट दोहा हुँदै नेपाल आएकी थिइन्। सिंह भने भारतबाट गामाले ल्याएको २ किलो ९ सय ६६ ग्राम हेरोइन लिन नेपाल आएका थिए। प्रहरीले तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीन वटै घटनामा उनीहरूले दक्षिण अफ्रिकाबाट नै कारोबार समूह सञ्चालन गरेको देखिएको छ। प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहकार्य गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

पछिल्लो हेरोइनको केस एउटै प्रकृतिमा लागूऔषध ल्याएको देखिएको छ। उनीहरूले लगेजमा फल्स बटम बनाएर लागूऔषध ल्याएका थिए। यसरी ल्याइएको लागूऔषधको लगेज होटलमा पुर्‍याएर कुनै खोलखाल गरिएको थिएन। प्रहरीको अनुसन्धानले यसरी खोलखाल नगर्नुले काठमाडौंबाट कतै पठाउन खोजिएको देखिन्छ।

यसरी साउथ अफ्रिकाबाट आएको हेरोइन नेपाल हुँदै भारत पुग्ने गरेको देखिएको छ। हेरोइन महंगो पर्ने भएकाले नेपालमा यसको प्रयोग कम हुने गरेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell