PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाल टी २० लिगको टिम घोषणा हुँदै, तर लिगलाई लिएर गरिएका सम्झौता किन बन्दैछ विवादित?



मुकुन्द घिमिरे

नेपाल टी २० लिगको टिम घोषणा हुँदै, तर लिगलाई लिएर गरिएका सम्झौता किन बन्दैछ विवादित?
नेपाल टी २० लिगको घोषणा कार्यकम्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द। फाइल फोटो : CAN

काठमाडौं : नेपाल टी २० लिगको टिमहरु सोमवार घोषणा गर्ने तयारी नेपाल क्रिकेट संघ क्यान गरेको छ। अर्कोतर्फ नेपाल टी २० लिगको विवाद सदनदेखि अदालतसम्म पुगिसकेको छ। एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक अमिर अख्तरदेखि क्यानकै बोर्ड सदस्यहरु नेपाल टी २० लिगको सन्दर्भमा भारतीय कम्पनी सेभेनथ्री स्पोर्टससँगको सम्झौतालाई लिएर आलोचनामा उत्रिएका छन्। यो विषयले संसदमा प्रवेश पाइसकेको छ भने मुद्दा अदालतमा विचाराधीन छ।

सोमवार संघले टिमको मालिक घोषणा गर्ने तालिका अघि सार्दा क्यानकै बोर्डका ६ जना सदस्यहरुले यो सम्झौता असंवैधानिक, अवैधानिक भएको भन्दै आइतवार सम्झौता खारेज गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई पत्र नै लेखे। जसमा पाँच जनाको हस्ताक्षर छ। उनीहरुले राखेपलाई यो सम्झौताले सबै फर्म्याटको क्रिकेट भारतलाई जिम्मा लगाइएको, कानुनी अधिकार भारतमै दिइएको, क्यानको सल्लाहकार बनाइएको, नेपालको कानुन प्रतिकुल हुनेगरि सम्झौता गरिएकोलगायतको आरोप लगाएका छन्।

यसअघि इपीएलका संस्थापक अख्तरदेखि संसदमा एमालेका सांसद गोकुल बास्कोटा सम्मले त्यही आरोप लगाएका थिए।

खासगरी सम्झौताको २१ बुँदामा भारतीय कानुन बमोजिको सम्झौता भएको र विवाद उत्पन्न भएको अवस्थामा १५ दिनभित्र भारतको नयाँ दिल्लीमा कानुनी प्रकृया अघि बढ्ने उल्लेख छ। त्यस्तै सम्झौताकै अर्को बुँदामा बौद्धिक सम्पतिमा भारतीय कम्पनीमा रहने उल्लेख छ। यो लगायतका सम्झौताका १४ बढी बुँदामा क्रिकेटका लागि घातक सम्झौता भएको भन्दै आपत्ति जनाउँदै ईपीएल र यसका फ्रेन्चाइजी अदालतमा छन्।

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पटकपटक सम्झौताको बचाउ गर्दै आएका छन्। चन्दले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल टी २० लिग नेपाल क्रिकेट संघको एकमात्र आधिकारिक लिग भएको बताउँदै सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता नेपाली क्रिकेटको हितमा भएको दाबी गरेका छन्।

'यस्ता प्रतियोगिता आयोजनाका लागि केही संस्थाको सहयोग जरुरी हुन्छ। सोही कारण हामी त्यो संस्थासँग जोडिएका हौं। दुई पक्षीय वार्तापछि रणनीतिक साझेदारीका लागि कुनै संस्थासँग सम्झौता हुनेगर्छ,' क्यान अध्यक्ष चन्दले भने, 'भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर्स’ सँगको सम्झौता नेपाली क्रिकेटको हितका लागि भएको हो। नेपाली क्रिकेट तल पर्दैन।'

चन्दले पटकपटक रटान लगाउने कुरा भनेको यो सम्झौता नेपालको हितमा भएकाले नै साधारण सभाबाट पारित भएको हो।

'कसैले टेण्डर प्रक्रिया भएन भने टिप्पणी गरिरहनुभएको होला, त्यसो होइन। यो पुरानै साधारण सभाबाट पारित भएको विषय हो,' चन्दको तर्क छ, 'प्रसारण, लिगको भ्यालूका हिसाबले, खेलाडीले पाउने सेवा सुविधाको हिसाबले यो लिग उत्कृष्ट लिग हुनेछ। यसले नेपालको लिगको स्तरलाई कायम राख्छ। यसो भनिरहँदा यसअघि भएका लिगमा स्तर थिएन भन्ने होइन। उनीहरुको पनि थियो। तर क्यानले आफ्नै लिग गरिरहँदा अन्य लिग फरक भूमिका दिन निर्णय भएको हो। गर्नै हुँदैन भन्ने होइन। यो लिग संसारको उत्कृष्ट लिग भन्दा धेरै तल पर्दैन भन्ने किसिमले अगाडि बढेका छौं।'

क्यानलाई यससन्दर्भमा लागेको सबैभन्दा ठूलो आरोप हो : बिडिङ नगराइ विदेशी कम्पनीसँग सम्झौता गरेको।

यसमा चन्द विगतमा पनि चौधरी ग्रुपसँग आपसी समझदारीबाटै उमेर समूहका प्रतियोगिता गराएको उदाहरण दिन्छन्।

'क्रिकेटमा मात्र होइन अन्य खेलकुदमा पनि संस्था जोडिने आपसी समझदारीमा नै हो। वार्ताबाटै हो। त्यसैले नेपाल टी–२० क्रिकेट संघको आफ्नो लिग हो,' उनको तर्क छ, 'विगतमा विश्वको चर्चित फ्रेन्चाईज लिग आईपिएल पनि शुरुवातमा आपसी साझेदारीमा भएको थियो। अहिले आईपिएल आफैँले गर्छ। हामीले तुलना गर्दा भारतको क्रिकेटसँग गर्छौं। विगतको भारतले चालेको कदम जस्तो हामीले चाल्न लागेका हौं।'

एसोसिएट राष्ट्र र तुलनात्मक रुपमा साँघुरो बजार रहेको हाम्रो स्तर भारतसँग तुलना गर्न नमिले पनि जो विज्ञ हो उसैसँग समझदारी गर्न पर्न तर्क उनको छ।

'भारतीय हुन् या पाकिस्तानी वा अमेरिकन हुन्। हामीले उनीहरुबाट केही सिक्ने हो। हामीले उनीहरुको आगमनलाई सदुपयोग गर्ने हो। क्यानले आयोजना गर्ने नेपाल टी–२० लिग क्यानको आफ्नै लिग हो। रणनीतिक र कमर्सियलका लागि साथ लिएका हौं,' उनले भने।

सम्झौतालाई लिएर बजारमा आएका आलोचनामा सत्यता नरहेको उनी जिकिर गर्छन्।

'आर्थिक, आयोजना र अन्य सम्बन्धमा केही लुकेको छैन। विवाद हुँदा फैसलाका लागि दिल्लीको अदालत रोजेको छ। लेखिए पनि त्यो सबै कुरा होइन। मुख्य सम्झौतापछि केही साइड एग्रिमेन्ट पनि भएका छन्,' चन्द तर्क गर्छन्, 'त्यसमा सच्याइएको छ। वकिललाई राखेर, आईसिसिको अनुमति लिएर अगाडि बढेका छौं। कुनै द्विविधा छैन।'

अदालतमा मुद्दा परिसकेको सन्दर्भमा आफूले स्वच्छ लिगको परिकल्पना गरेको तर अदालतले देशको हितविपरित भयो भनेर आदेश दिए त्यही अनुकुल जाने उनले बताए।

'खेलाडीहरु मर्नु भएन। लिग स्वच्छ, नाम चलेको लिगको परिकल्पना गरेका हौं। बाँकी तपशिलका कुरालाई धेरै उठाउनु जरुरी छैन। यहाँ यस्तो माहोल बनेको छ, देशै बेचिहाल्यो भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ,' चन्द भन्छन्, 'सम्झौता एउटा निजी संस्था र क्यानबीच प्रतियोगिता आयोजनाको सम्बन्धमा भएको हो। सर्वोच्च अदालतमा यसअघि फ्रेन्चाइज लिग गर्दै आएको एक संस्थाले मुद्दा हालेको छ। अदालतले नेपाल क्रिकेटको हितविपरित भयो भनेर फैसला गरे हामी स्वीकार गर्न तयार छौं। हामी सम्मानित अदालतले गरेको फैसलालाई अक्षरस पालना गर्छौं। यसमा धेरै बोल्ने भन्दा अदालतले गरेको निर्णयअनुसार चल्ने हो।'

चन्द अहिलेको अवस्थामा अन्य देशले पनि बाहिरी देशकालाई राखेर प्रतियोगिता गरेको उदाहरण दिन्छन्।

'बाहिरको खेलाडीलाई राखेर प्रतियोगिता खेलाएका छन्। यसो भनिरहँदा ती देशको राष्ट्रियता गुमेको छ र? तर हामीले त्यो त गरेका छैनौं,' उनी भन्छन्, 'हामीले भारतमा बसेका नेपालीलाई जोड्न पायौं भने नेपाली क्रिकेट अझै माथि जानसक्छ भन्ने सोचेका छौं। अनुभवी जो कोही राखे विकास हुन्छ कि भनेर सम्झौता गरेका हौं। नेपालमा भारत, राष्ट्रियता भनेर जोडिनुलाई मैले अर्थपूर्ण तरिकाले हेर्दिन।'

यसमा उनको तर्क छ : नेपाली क्रिकेट विकासका लागि जो कसैको सहयोग लिने हो। अन्य देशको पनि लिने हो। नेपाली क्रिकेटलाई माथि लग्ने हो।

चन्दले लिगको बारेमा चलेका नकारात्मक टिप्पणीको खण्डनसमेत गरे। 'नेगेटिभ तरिकाले भन्दा हेर्नुभन्दा पनि पोजेटिभ तरिकाले पनि हेर्न जरुरी छ। सम्झौताले क्यान सकिँदैन,' उनले भने।

लिग आयोजना गर्ने भनेर घोषणा गर्दा वर्षौदेखि नेपाली क्रिकेट धानेर बसेकाहरुको अवमुल्यन भएको भन्ने आरोप पनि क्यान नेतृत्वमाथि छ। चन्द अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिने भन्दै पन्छिन्छन्।

'हामीले उहाँहरुलाई क्षेत्रीय लिग आयोजना गर्नका लागि अनुमति दिन्छौं भनेर निर्णय गरेका छौं। किनभने पछिल्लो ८ वर्षको ३३ करोड रकम थोरै पनि होइन। नेपाली क्रिकेटका लागि धेरै नहोला तर थोरै होइन,' उनी भन्छन्, 'अहिलेको क्रिकेट संघको हैसियत, बजार भ्यालूअनुसार त्यो रकम कम होइन। कुनैपनि लगानी कर्ता लगानी डुबाउन लगानी गर्दैन। सबैलाई मौका दिँदा नेपाली क्रिकेट अगाडि बढ्न सक्दैन। झनै भताभुङ्ग हुन्छ।'

अत योगदानको आधारमा क्षेत्रीय लिग गर्न क्यान र उनीहरुसँग छलफल गरेर अगाडि बढाउन सकिने चन्दको तर्क छ। पछिल्लो समय नेपालमा खेलिएका मुख्य तीन लिग हुन्: पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग।

'तीन मध्येको एभरेष्ट प्रिमियर लिगले मात्र भनेको छ। यस विषयमा एभरेष्टले सर्वोच्चमा मुद्दा दायर गरेको छ। अरुले होइन। अन्य दुई यसमा सकारात्मक छन्,' उनले भने, 'सर्वोच्च अदालतमा दायर मद्दामा टी–२० लिग रोक्नुपर्‍यो र एभरेष्ट प्रिमियर लिग चार संस्करण भइसेकोले अब पनि गर्न पाउनुपर्छ भन्नेछ। सम्मानित अदालतले नेपालभित्र हुने क्रिकेटको प्रतियोगिता संघलाई नगर भनेर कुनै संस्थालाई गर भनेर फैसला गर्दैन होला। सहकार्य गर्, समेटेर अगाडि बढ भन्ला।'

उनले फेरि बाँकी फ्रेन्चाइजलाई हामीले क्षेत्रीय अनुमति दिने भनेर निर्णय गरेका छौं दोहोर्‍याउँदै त्यसलाई हामीले पालना गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell