PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

दुतुगेमुनुसँग दाँजिएका एउटा 'बादशाह'को पतन



पहिलोपोस्ट

दुतुगेमुनुसँग दाँजिएका एउटा 'बादशाह'को पतन
महिन्दा राजापाक्षे / गोतावया राजापाक्षे | File Photo : Ishara S Kodikara/AFP

कुनै बेला श्रीलंकामा 'हिरो' मानिन्थे राजापाक्षे दाजुभाइ। अहिले उनीहरु 'भिलेन'मा परिणत भएका छन्। चर्को आर्थिक संकटका कारण श्रीलंकामा दुई दशक लामो राजापाक्षे शासनको अन्त्य भएको छ। दाजु महिन्दा राजापाक्षे राष्ट्रपति हुँदा भाइ गोतावया राजापाक्षे देशका सेना प्रमुख थिए।

दुबैको सक्रियतामा तीन दशक लामो गृहयुद्धको अन्त्य भयो। कुनैबेला राजापाक्षे मानवअधिकारवादी नेता थिए। तर, पछि उनलाई मानव अधिकार उल्लंघनदेखि अल्पसंख्यकको नरसंहार गरेको आरोप लाग्यो। यति हुँदाहुँदै पनि सिन्हालीहरुले उनलाई 'स्रमाट'को उपाधि दिए।

महिन्दा राजापाक्षे सन् १९८७-१९८९ मा पिपलस् लिबरेसन फ्रन्टले सञ्चालन गरेको गृहयुद्धका क्रममा बेपत्तापछि हत्या गरिएका पत्रकार रिचर्ड मनिक डी जोयसाकी आमालाई अगाडि लगाएर मानवअधिकार रक्षाका लागि लडेका थिए। 

पत्रकार रिचर्डको हत्या सरकारद्वारा प्रायोजित हत्यारा समूहले गरेको थियो। राजापाक्षेले यो मुद्दालाई राष्ट्रसंघ, एमनेस्टी इन्टरनेसनलसम्म पुर्‍याए। यो आन्दोलनका समयमा राजापाक्षेले देशमा वैदेशिक सहयोग उपलब्ध गराउन मानवअधिकारको एउटा सूचक राख्न पटकपटक माग गर्दै आएका थिए। 

'यदि सरकारले मानवअधिकारलाई नमान्ने हो भने हामी जेनेभामात्रै होइन संसारको जुनसुकै ठाउँमा वा आवश्यक परे नर्कमा गएर सरकारविरुद्ध कारबाही गर्नुपर्छ। यस देशका निर्दोषहरूको विलाप जहाँसुकै उठ्नु पर्छ,' महिन्दाले सन् १९९० मा मानवअधिकारको पक्षमा वकालत गर्दै भनेका थिए।

मानवअधिकारको चर्को वकालत गर्ने उनैमाथि सन् २००९ मा विद्रोही तमिल टाइगर्सका लडाकु तथा नि:शस्त्र नागरिकको नरसंहार गरेको आरोप लाग्यो। कति भने, तमिल टाइगर्सका प्रमुख प्रभाकरणका १२ वर्षका छोरालाईसमेत नियन्त्रणमा लिएर हत्या गरिएको थियो।

एकातिर नरसंहारको आरोप लागिरहे पनि महिन्दाका समर्थकहरुले भने राजापाक्षेलाई 'सिन्हाला बुद्धिस्ट हिरो'को रुपमा लिन थाले। उनलाई देवताकै रुपमा सम्मान दिइयो। कति भने महिन्दालाई दुतुगेमुनुसँग पनि दाँजेर हेरियो। दुतुगेमुनु २००० वर्ष अगाडि सिन्हाली राजा थिए। जसले त्यतिबेला नै तामिलहरुलाई पराजित गरेका थिए। १३ वर्ष लामो युद्ध गरेर दुतुगेमुनुले गुमाएका राज्य फिर्तालिएर श्रीलंका स्थापना गरे

तर, सत्तामा आएको तीन वर्षमा नै महिन्दा राजापाक्षेले तमिललाई परास्त गर्दै उनीहरुले नियन्त्रणमा लिएका क्षेत्रहरु नियन्त्रणमा लिए। युद्ध सकिएपछि महिन्दा राजापाक्षेले भनेका थिए- हाम्रा सेना युद्ध मैदानमा एक हातमा बन्दुक र अर्को हातमा मानवअधिकार घोषणापत्र बोकेर गएका थिए।

उनले जति जे भने पनि राष्ट्र संघको एक रिपोर्टमा गृह युद्धको अन्तिम महिनामा मात्र ४० हजार बढी सर्वसाधरण मारिएको र यो सम्भवत ७० हजारसम्म रहेको उल्लेख गरेको छ। जसमध्ये अधिकांश हत्या सरकारी फौजले गरेको थियो। यसको नेतृत्व राजापाक्षेकै भाइ गोतावया राजापाक्षेले गरेका थिए। तत्कालीन समय गोतावया श्रीलंकाको डिफेन्स सेक्रेटरी थिए।

उन गोतावयालाई धेरैले 'गोता' भन्छन्। तमिल टाइगर पराजित गर्न उनको नै महत्त्वपूर्ण भूमिका मानिन्छ। कतिपयले अझ प्रश्न गर्छन्- राजपाक्षेलाई उनको नाममा कतिसम्म भयो भन्ने कुरा उनैलाई थाहा नहोला?

सिन्हाली समुदायको बाहुल्यता भएको श्रीलंकाभित्र राजापाक्षे हिरो नै रहे- चाहे बाहिर उनलाई युद्धअपराधीको रुपमा चित्रण गरिए पनि।

तमिल टाइगरमाथि जित हात पारेसँगै हरेक वर्ष विजयी दिवस परेडमा उनलाई सम्राटको उपाधीसहित उनको जयजयकार गरियो। त्यसयता श्रीलंकाको शासन राजापाक्षे परिवारकै वरिपरी घुम्यो। राजापाक्षेका बुवा डन अल्विन राजापाक्षे पनि सांसद रहिसकेका थिए।

विपक्षी दलबाट उदाएका महिन्दा २००४ मा प्रधानमन्त्री हुँदै राष्ट्रपतिसमेत भए। १० वर्ष उनी श्रीलंकाको राष्ट्रपति भए। पटकपटक गरी तीन पटक प्रधानमन्त्री बने। उनका भाइहरु चमल, र बसिल पनि पटक पटक मन्त्री बने। उनका छोराहरु नमल पनि मन्त्री बने। त्यस्तै छोरा योशिता चिफ अफ स्टाफ, उनको परिवारका निरुपमा, दीपिका, शशीधरणा, निपुना, लक्षमणलगायत श्रीलंकाको राजनीतिक, व्यापारी, मन्त्रीसम्म भए।

गोतावया सेनाको जागिरबाट अवकाश भएपछि अमेरिकामा जीवन बिताउने तयारी गर्दै थिए। तर, महिन्दाले आफू राष्ट्रपति भएसँगै आफ्ना भाइलाई डिफेन्स सेक्रेटरी बनाएर क्याबिनेटमा भित्र्याए। उनी २०१५ सम्म डिफेसन्स सेक्रेटरी भए। उनकै नेतृत्वमा तमिल टाइगरलाई पराजित गरेको थियो।

गोतावयासँगै उनको परिवारका अरु पनि सरकारमा जोडिन पुगे। राजनीतिमा उनकै परिवार हाबी हुँदै गयो। यस वर्षसम्म यी दाजुभाइहरु एक ठाउँमा उभिँदै आएका थिए। आन्दोलनसँगै गोतावयाले आफ्ना दाजुको राजीनामा गराए, जसले उनलाई ल्याएका थिए राजनीतिमा। आफ्नै दाजुलाई प्रधानमन्त्रीबाट राजीनामा माग्न उनी बाध्य भए।

आन्दोलन चर्किँदै गयो। महिन्दाले प्रधानमन्त्रीबाट राजीनामा दिए। उनको स्थानमा रनिल विक्रमासिंगे प्रधानमन्त्री बने। विक्रमासिंगे पनि उनको ससुराली तिरका नातेदार हुन्। आन्दोलन चर्किँदै जाँदा एकपछि अर्को गर्दै राजपाक्षे परिवारका सदस्यहरुले राजीनामा दिँदै देश छाड्दै गएका छन्। यसैको अन्तिम श्रृङ्खला गोतावया बने। उनले पनि देश छाडेका छन्। सिंगापुर पुगेर राष्ट्रपतिबाट राजीनामा दिएका छन्

लामो समयसम्म मानव अधिकार उल्लंघन, अल्पसंख्यक समुदायमाथिको दमनको आरोप लाग्दै आए पनि बहुसंख्यक सिन्हाला समुदाय उनको पक्षमा उभिँदै आएका थिए। तर, यसपटक त्यस्तो छैन। त्यहाँको आर्थिक अवस्थाले सिन्हालीहरु पनि प्रभावित भए। उनीहरु पनि त्यहाँका अल्पसंख्यकको अधिकारको पक्षमा बोल्न थालेका छन्

त्यसैको परिणाम एउटा 'बादशाह'को पतन भएको छ श्रीलंकामा। राजापाक्षेको पतन त भएको छ तर, अबको बाटो के? श्रीलंका राजनीतिक अनिश्चितताको भुमरीमा छ यतिबेला।

स्वतन्त्रा स्थापनापछि सँधै श्रीलंकाको शासन सीमित परिवारको हातमा रह्यो। त्यसमध्ये राजापाक्षे परिवार एक हो। गोतावया राष्ट्रपतिमा निर्वाचित हुनु उनको भिजन र असाधारण क्षमता भएर नभई 'फेम्ली प्रोजेक्ट'कै आधारमा भएको कोलम्बोमा रहेको इन्स्टिच्युट फर डेमोक्रेटिक रिफर्म एण्ड इलेक्टोरल स्टडीका कार्यकारी निर्देशक मन्जुला गजानायके दाबी गर्छन्। 'राजापाक्षे परिवारको श्रीलंकाको राजनीतिमा दबदबा छ। यो दबदबा राजनीतिमा रहेको नेपोटिज्म प्रोजेक्ट हो,' उनले अलजजिरासँग भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell