
फ्रान्सको पूर्वी र दक्षिणी क्षेत्रबाट १६ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। डढेलो बढ्दै जाँदा उनीहरुलाई सुरक्षित स्थानमा लगिएको सरकारी अधिकारीहरुले बताएका छन्। त्यहाँको प्रख्यात पर्यटकीय क्षेत्र गिरोन्डे पनि खाली गराइएको छ।
युरोपका धेरै देशहरुमा अहिले डढेलो लाग्दा तापक्रम ह्वात्तै बढेको छ। बेलायतमा आजको तापक्रम ४१ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ।
स्पेनको मिजास हिलमा पनि डढेलो फैलिरहेको छ। ३ हजार २०० लाई सुरक्षित स्थानमा लगिएको छ। पोर्चुगल, मोरोक्को, ग्रिस र क्रोएसियामा पनि डढेलो लागिरहेको छ। पोर्चुगल र स्पेनमा मात्र तापक्रम वृद्धिका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। पोर्चुगलमा तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ।
युरोपभर तापक्रमण बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दो छ। अधिकारीहरुले आवश्यक सतर्कता अपनाउन अपील गरेका छन्।