![प्रदीप ज्ञवालीले गरे गभर्नर अधिकारीको बचाउ, 'मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन'](https://pahilopost.com/assets/upload/contentthumb/pdp.jpg)
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउनका लागि नै गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको दाबी गरेका हुन्।
एमालेको संगठनमा रहेका एम अधिकारी नै गभर्नर अधिकारी भएको भन्दै कांग्रेससहितका गठबन्धन दलले उनको राजीनामा मागिरहेका छन्।
‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो। हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो। जम्माजम्मी कारण के? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, स्रोत देखाउनुस् भन्यो स्रोत देखाउन सक्दैन। १७-१८ वटा फेक कम्पनीहरु छन्। अमेरिकामा सोध्दा ती कम्पनीहरु कुनै पनि महत्व छैन। यो स्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु। त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो,’ उनले भने।
ज्ञवालीले आर्थिक हिसावले कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको बताए। उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए।
‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो। दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन। मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन भने अरुको के होला? बनावटी अभाव मलको चर्को छ,’ उनले भने।
ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए। पाँच दलिय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिँदै उनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाए।
‘राज्य एकदमै डरलाग्दो गरेर विचौलियाहरुको नियन्त्रणमा जान थालेको छ। राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन। तर, आज राजनीतिक गठबन्धनको आवरणमा जुन खतरनाक वित्तिय गठबन्धन छ। भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तिय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो,’ उनले भने।
ज्ञवालीले आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने समेत बताएका छन्।