PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कोरोना बढ्न थालेपछि नवलपरासीमा अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह



रासस

कोरोना बढ्न थालेपछि नवलपरासीमा अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपुर : पछिल्लो समय कोभिड-१९ को संक्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले अनिवार्य रुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतवार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ। कोभिड-१९ को संक्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतवार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए।

‘अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ,’ घिमिरेले भने।

आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताए। जिल्लामा कोभिड-१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ।

‘अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो’, घिमिरेले भने, ‘कोरोनाको संक्रमण बढ्ने/घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell