PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड, 'नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान नबनोस्'



पहिलोपोस्ट

नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड, 'नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान नबनोस्'
फाइल फोटो

काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। यस्तै, सांसदहरुले बढ्दो महंगीदेखि परराष्ट्र नीतिबारे पनि सरकारसँग धारणा माग गरेका छन्।

नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले विधेयकको विषय छिटो टंग्याउनुपर्ने बताए। भने, ‘नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ। राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ।’

यस्तै, उनले पछिल्लो समयमा बढदै गएको महँगीको अन्त्य गर्नुपर्ने माग गरे। संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको टिप्पणी थियो। उनले सार्वजनिक लेखा समितिको सभापति आफैँले लेखापरीक्षण गरेको भन्दै राजीनामाको माग गरे।

यता, नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा राखेकी थिइन्।

‘नागरिकताको विषयमा छिमेकी मुलुकको गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ,’ उनले भनिन्।

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिएका थिए। शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको भन्दै उनले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको बताए।

‘नेपाल यी शक्ति राष्ट्रहरुको प्लेइङ ग्राउण्ड नबनोस्। र खुला रुपमा, स्पष्ट रुपमा नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरुले भनोस् कि नेपालको कुनैपनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली जनताको हो तिमीहरु बोल्न पाउँदैनौँ। तिमीहरु बोल्यौ कि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ यो। यो कुरा भन्न सक्नुपर्छ नेपाल सरकार र नेपालका राजनीतिक पार्टीहरुले,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell