
अफ्रिकी मुलुक घानामा घातक मारबर्ग भाइरसको दुई वटा केस पुष्टि भएको छ। इबोला निम्त्याउने भाइरसकै एक प्रजातिका कारण हुने यो रोग अत्यधिक संक्रामक रहेको बीबीसीले उल्लेख गरेको छ।
दक्षिणी एशान्ति क्षेत्रको अस्पतालमा हालसालै दुवै संक्रमितको मृत्यु भएको बताइएको छ। संक्रमितहरुबाट लिइएको नमूनाहरू यस महिनाको सुरुमा मारबर्ग भाइरस पोजिटिभ आएको थियो। जसलाई हाल सेनेगलस्थित प्रयोगशालाले पनि प्रमाणित गरेको छ।
घानाका स्वास्थ्य अधिकारीहरूका अनुसार ९८ जना व्यक्तिहरूलाई संक्रमितसँग सम्पर्कमा आएको आशंकामा क्वारेन्टाइनमा राखिएको छ।
मारबर्ग भाइरसको हालसम्म कुनै उपचार पत्ता लागेको छैन। तर, प्रशस्त पानी पिउनु र विशिष्ट लक्षणहरूको उपचारबाट बिरामीको बाँच्ने सम्भावना बढ्ने चिकित्सकहरुले बताएका छन्।
यो भाइरस चमेराबाट मानिसमा सरेको हो भने शारीरिक तरल पदार्थको माध्यमबाट मानिसहरुबिच सर्ने गर्छ। यो टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी दुख्ने, रगत बान्ता हुने र रगत बग्ने जस्ता लक्षणहरू सहितको गम्भीर तथा घातक रोग हो।
मानिसहरूलाई गुफाहरूबाट टाढा रहन र सबै मासुजन्य उत्पादनहरूलाई राम्ररी पकाएर मात्रै खान स्वास्थ्य अधिकारीहरुले सुझाव दिएका छन्।
अफ्रिकामा अघिल्लो प्रकोप र छिटपुट केसहरू अंगोला, कंगो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा रिपोर्ट गरिएको विश्व स्वास्थ्य संगठनले बताएको छ। पहिलो पटक सन् १९६७ मा जर्मनीमा मारबर्ग प्रकोप देखिएको थियो। त्यहाँ ७ जनाको मृत्यु भएको थियो।
यो भाइरसका कारण २००५ मा अंगोलामा २०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। जुन हालसम्म रेकर्डमा रहेको मारबर्गको सबैभन्दा घातक प्रकोप थियो।