बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई स्विमिङ पुल (पौडी पोखरी)मा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध आन्दोलन सुरु भएको छ।
राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै विरोध प्रर्दशन सुरु भएको हो। आइतवार तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभा बैठकमा विवाद हुँदा डीएसपी केसीले वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै पौडी पोखरीमा पुर्याएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
नगरसभामा जनप्रतिनिधिहरुबिच विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरीले बल प्रयोग गरी हातपातमा उत्रिएको भन्दै घटनामा संलग्न डीएसपी केसीसहित अन्य प्रहरी अधिकारीहरुलाई कारबाही गर्न माग गरिएको हो।
असार १० गते बजेट प्रस्तुत गरेपछि असार २१ गतेको लागि बोलाइएको नगरसभामा नगर प्रमुख रामकृष्ण खाणले असार २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए। ३१ गते दिउँसो बोलाइएको नगरसभामा ८९ जना जनप्रतिनिधि सहभागी भए पनि ४१ जनाले मात्रै हस्ताक्षर गरेको र गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरी नगर प्रमुख रामकृष्ण खाणले साउन १ गते आइतवारका लागि सारेको नेकपा (एमाले)का जनप्रतिनिधिहरुले आरोप लगाएका छन्। आइतवार निर्धारित समयमा सुरू भएको नगरसभामा पनि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख खाणले सोमवार दिउँसो १ बजेको लागि बैठक बोलाएका थिए।
एमालेका जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने कानुनी व्यवस्था भएकाले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए। तर, नगर प्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहेकाले विवाद उत्पन्न भएको एमालेको दावी छ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगर प्रमुख खाणसँग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ।
एमालेले बुझायो ज्ञापन पत्र
वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै एमालेले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ।
आइतवार नगरसभा स्थगित गरेको विरोधमा उत्रिएका तिलोत्तमा-४ का वडाध्यक्ष क्षेत्रीलाई डीएसपी केसीले अभद्र व्यवहार गर्दै धकेलेर पौडी पोखरीमा पुर्याएकाले उनिमाथि कारबाही हुनुपर्ने एमालेको माग छ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी सहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै डीएसपी केसी र विवादास्पद भुमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न माग गरेको छ।
सोमवार पनि नगरसभा स्थगित
गणपुरक संख्या नपुगेको भन्दै पटक-पटक स्थगित हुँदै आएको तिलोत्तमा नगरपालिकाको सोमवारको नगरसभा पनि स्थगित गरिएको छ। आज सोमवार दिउँसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक १५ मिनेट अगाडि सूचना टाँस गरी स्थगित गरिएको हो।
नगर कार्यपालिकाका सदस्य सचिव माधव पोखरेलले सूचना प्रकाशित गरी मंगलवार बिहान ११ बजे सम्मका लागि नगरसभा स्थगन गरिएको उल्लेख गरेका छन्। नगरसभाको एजेण्डाका विषयमा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच असहमति हुँदा नगरसभा पटक स्थगित हुँदै आएको छ।