काठमाडौंः काठमाडौं उपत्यकाका तीन जिल्लाहरूबाट मात्र गएको आर्थिक वर्षमा ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ।
प्रहरीले सबैभन्दा धेरै राजस्व सङ्कलन गर्नेमा ट्राफिक कारबाही पनि मुख्य कारणहरूमा पर्ने गर्दछ। हरेक आर्थिक वर्षमा प्रहरीले ट्राफिक कारबाहीबाट १ अर्ब भन्दा बढी रकम सङ्कलन गर्ने गरेको छ। काठमाडौँका तीन जिल्लाहरूमा गएको आर्थिक वर्षमा ५ लाख ४ हजार ५ सय ५७ वटा सवारी साधन कारबाहीमा परेका थिए। यसरी कारबाहीमा परेकाबाट ३३ करोड १३ लाख ६८ हजार २ सय १८ रुपैयाँ राजस्व सङ्कलन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय एसपी सञ्जीव शर्मा दासले बताए।
आर्थिक वर्ष २०७८/७९ मा काठमाडौं उपत्यकाभित्र लेन कारबाहीमा १३ हजार ८ सय ९३वटा सवारी साधन कारबाहीमा परेका छन्। त्यस्तै मादक पदार्थ खाएर सवारी चलाएको ३३ हजार ५ सय ९० वटा सवारीका चालकलाई कारबाही गरिएको एसपी शर्माले जानकारी दिए। रातो बत्ती, तीव्र गति लगायत अन्य विभिन्न कारणले पनि चालक कारबाहीमा परेका छन्
अघिल्लो आर्थिक वर्षमा प्रहरीले सबैभन्दा धेरै राजस्व सङ्कलन ट्राफिक कारबाहीबाट गरेको थियो। ट्राफिक कारबाहीबाट १ अर्ब १६ करोड ३५ लाख १४ हजार ९ सय रुपैयाँ सङ्कलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ को तुलनामा ट्राफिक कारबाहीबाट सङ्कलन राजस्व ३० प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०७६/७७ मा ८८ करोड ९७ लाख ९५ हजार ९ सय रुपैयाँ मात्र सङ्कलन गरिएको थियो।