PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रूपन्देहीमा संचालनमा आए विद्युतीय सार्वजनिक बस



रमेश पराजुली

रूपन्देहीमा संचालनमा आए विद्युतीय सार्वजनिक बस

बुटवल : रूपन्देहीमा विद्युतीय सार्वजनिक बस संचालन गरिएको छ। सुन्दर यातायात प्रालिले स्थानीय रूटमा संचालन हुने गरि ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो। तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुईवटा वातावरण अनुकुलित (एसी बस) संचालनमा आएका प्रालिका सञ्चालक डीआर घिमिरेले जानकारी दिए।

छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म पनि विद्युतीय बस सेवा संचालनमा ल्याउने तयारी गरिएको घिमिरेले जानकारी दिए। लुम्बिनी प्रदेश सरकारले पनि विद्युतीय गाडी संचालन गर्ने प्राथमिकतामा राख्दै आएपनि सञ्चालनमा ल्याउन सकेको छैन।

‘सानो मेशिनले बस चार्ज गर्न समस्या भएकाले नियमित बस संचालन गर्न केही समस्या भएको हो। कालिकानगरमा चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अब बसले नियमित सेवा दिनेछ,’ उनले भने। विद्युतीय वातावरण अनुकुलित गाडी तराईको गर्मीमा यात्रुको रोजाइमा पर्ने विश्वास गरिएको छ।

बुटवलको गोलपार्ककी अनिता ज्ञवाली विद्युतीय बसमा यात्रा गर्दा सहज भएको बताउँछिन्। अरू बसमा जस्तो आवाज र गन्ध नआउने भएकाले उनले विद्युतीय बस चढ्ने गरेकी हुन्। विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बुटवलमा बस नै कम भएको उनको गुनासो छ।

‘यहाँ विद्युतीय बसमा यात्रा गर्न धेरै समय पर्खिनुपर्छ। केही समय कुर्दा पनि बस आएन भने अरू गाडीमा चढ्नुपर्छ,’उनले भनिन्।

बुटवलका सडकमा दैनिक धेरै संख्यामा सवारीसाधन गुड्ने भएपनि यात्रु मिलेसम्म यही बस कुरेर चढ्ने गरेको पाइएको छ। डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी पनि छ। विशेषगरी युवापुस्ता केहीसमय कुरेर भएपनि विद्युतीय बस चढ्ने गरेको पाइएको प्रालिले जनाएको छ।

सुन्दर यातायात प्रालि बुटवलका इन्चार्ज प्रदिप पौडेलले बुटवलमा संचालन भइरहेका विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको बताए। एकपटक पूरै चार्ज भएको बस २००  किलोमिटर गुड्न सक्ने पौडेलले जानकारी दिए।

‘अहिले संचालनमा रहेका बस ३० सिट क्षमताका छन्। यी बसहरु एकपटक पूरै चार्ज गर्न करिब २ घण्टा लाग्छ,’ उनले भने, ‘बस चार्ज गर्न २०० केभीको ट्रान्सफर्मर आवश्यक पर्छ। त्यसका लागि विद्युत् प्राधिकरणमा प्रालिले माग गरेको छ। अहिले सानो मेशिनले गाडी चार्ज गर्दा धेरै समय लाग्ने गरेको छ।’ 

आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको उनले बताए। प्रालिका अध्यक्ष भेषबहादुर थापाले तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा बस संचालनमा आउने र दोस्रो चरणमा बाँकेको नेपालगञ्जलगायत अन्य जिल्लामा पनि बस सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। गएको चैतमा रुपन्देही आएका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय बसको उद्घाटन गरेका थिए। तर, दैनिक चार्ज गर्ने ठाउँ नहुँदा बस संचालनमा आउन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell