
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई गठबन्धनकै हिस्सा भएको बताएका छन्। जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)को कारवाहीमा परेका भट्टराई गठबन्धनकै पक्षमा रहेको दाहालले बताए।
सिंहदरबारमा आज भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको दाहालले बताएका हुन्।
‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि। यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको,’ उनले भने।
दाहालले गठबन्धनको सम्बन्धमा बिहीवार सम्ममा टुंगोमा पुग्ने पनि बताए।
‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ। पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’ प्रचण्डले भने।
दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय सही भएको पनि बताए।
‘कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन,’ उनले भने।