काठमाडौं : काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा निस्किएको लेदोसहितको ग्यास अझै निस्किने क्रम रोकिएको छैन।
मंगलवार बिहान १० बजेदेखि निस्किएको ग्यास दिउँसो ३ बज्दासम्म आइरहेको छ। यसरी लेदो मिसिएको ग्यास निस्किँदा वरपरका करिब १० घरहरू प्रभावित बनेका छन्। घरका छत तथा भित्ताहरू लेदोले ढाकिएको छ।
लामो समयदेखि लेदो निस्किने क्रम नरोकिएकाले जोरपाटी चोकसम्म लेदो आइपुगेको छ। यसरी जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका कर्मचारी समेत जोरपाटी पुगेका थिए।
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले ग्यासको मात्रा सकिएपछि लेदो निस्कने क्रम आफै रोकिने बताए।
'काठमाडौंमा २८५ मिटर तल ग्यासको तह भएको अध्ययनले देखाएको छ। त्यहाँ पनि बोरिङ खन्दा पाइपले त्यो तहलाई पम्चर बनायो। त्यसैको कारण ग्यास निस्किएको हो,' बाँस्कोटाले भने।
सन्तवीर लामाको घरमा चार दिनदेखि बोरिङ खन्ने काम भइरहेको थियो। ३३० फिट बोरिङ खनेपछि लेदोसहितको ग्यास निस्किएको हो। लेदोसहितको ग्यास निस्किएको वरपर सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छ।