PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'एकता संयोजन समिति' बनाउन प्रचण्ड, बाबुराम र वामदेव सक्रिय, एकपछि अर्को विकल्पमा छलफल



प्रकाश भण्डारी

'एकता संयोजन समिति' बनाउन प्रचण्ड, बाबुराम र वामदेव सक्रिय, एकपछि अर्को विकल्पमा छलफल

काठमाडौं : पार्टी एकता गर्ने कि चुनावी मोर्चा बनाउने भन्नेबारेमा कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच गृहकार्य भइरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईबिच एक पछि अर्को छलफल भइरहेको हो।

मंगलवार प्रचण्ड र भट्टराईबिच सिंहदरबारमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले गठबन्धन नछोडने बताएको प्रचण्डले बताएका छन्। छलफलमा गठबन्धन गर्नेबारेमा पनि कुराकानी भएको प्रचण्डले बताएका थिए।

अहिले सिंहदरवारमै प्रचण्ड, नेपाल, खनाल र गौतमबिच कुराकानी भइरहेको छ। यसअघि पनि समाजवादी केन्द्र बनाउनेबारेमा यी नेताहरुबिच छलफल भएको थियो। भट्टराई हाल जसपाबाट अलग हुने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले भट्टराईमाथि कारवाहीको निर्णय गराएका छन्।

यी विकल्पमा छलफल

आइतवार गौतमले नेपाल र खनालसँग पनि छलफल गरेका थिए। यस्तै सोमवार गौतमले प्रचण्डलाई भेटेका थिए। गौतमले कम्युनिस्ट नेताहरुसँग एक पछि अर्को गरेर औपचारिक तथा अनौपचारिक भेट गरिरहेका छन्। उक्त भेटमा पार्टी एकता या सहकार्य मात्रै भन्ने बारेमा छलफल हुने गरेको छ।

नेकपा एकता राष्ट्रिय अभियानका सचिवालय सदस्य निमाकान्त पाण्डेले पार्टी एकता गर्ने नभए मोर्चा बनाउने विकल्पमा छलफल भएको जानकारी दिए। 'सबै विकल्पमाथि छलफल भइरहेको छ। पार्टी एकता नभए वाम मोर्चा त्यो पनि नभए एकता संयोजन समिति बनाउने छलफल भइरहेको छ। बढी सम्भावना एकता संयोजन समितिको छ,'पाण्डले भने।

पछिल्लो समय गौतम लगातार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरिरहेका छन्। केही समय अघि गौतमले ओली निवास बालकोटमै पुगेर आफ्नो पार्टीको निर्णयको जानकारी दिएका थिए।

माओवादी र एमालेमात्रैको सहकार्यका लागि पनि छलफल

एकातिर कम्युनिस्ट पार्टीहरुको गठबन्धन गर्ने विकल्पमाथि छलफल भइरहँदा अर्कोतिर आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा एमाले र माओवादी केन्द्रबिच गठबन्धन गरेर जानेबारेमा पनि छलफल भइरहेको छ। उक्त प्रस्तावबारे ओली पनि सकारात्मक भएको ओली निकट नेताको भनाइ छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहकार्य गर्नुपर्ने प्रस्तावसहित ओलीलाई बालकोटमा पटकपटक भेटेका छन्। ओली र श्रेष्ठ दुबैले एकै मञ्चबाट केही दिन अघि वाम मोर्चाका बारेमा बोलेका थिए। एमालेभित्र नेता घनश्याम भुसालले पार्टी विभाजनपछि नै वाम मोर्चा बनाएर जानुपर्ने मत राखिरहेका छन्।

सुरुमा ओली वाम मोर्चा बनाउने कुरामा सकारात्मक नभए पनि स्थानीय तह निर्वाचनको परिणाम पछि भने वाम गठबन्धनको पक्षमा उनी खुल्न थालेका हुन्। यस्तै एकीकृत समाजवादीका नेता खनालले पनि स्थानीय तह निर्वाचनको परिणाम पछि वाम गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए। एमालेसँगै पनि मिल्न सकिनेबारेमा खनालले लगातार पार्टिका बैठकमा आफ्नो मत राख्ने गरेका छन्। तर,अध्यक्ष नेपाल पक्षका नेताहरु भने तत्काल ओलीसँग एकताको सम्भावना नभएको बताइरहेका छन्। एमाले बाहेकको कम्युनिस्ट पार्टीहरुका बिचमा एकता गर्नुपर्ने पक्षमा नेपालपक्ष लागेको छ। यद्यपि, केही दिन अघि एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेलाई अहिले प्रहार गर्न नहुने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell