PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाउने समितिको निर्णय



पहिलोपोस्ट

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाउने समितिको निर्णय
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भएपनि रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने भएकाले सीसीटीभीको हार्ड डिक्सको अवस्थामा भरपर्ने भन्दै फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउन उपयुक्त हुने सुझाव दिएको बताए।

सचिव अर्यालले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टम नै समितिलाई दिएको बताए। उनले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय भएको बताए।

उनले भने, ‘विज्ञहरुलाई समितिले डिलिट भएका सीसीटीभी फुटेज रिकभर गर्ने विषयमा जिज्ञासा राख्यो। विज्ञहरुले रिकभरी गर्न सकिने विषय हो, रिकभर गर्ने अर्थोरेटिक सफट्वेयर चाहिन्छ। सीसीटीभीको हार्ड डिक्सको अवस्था कस्तो छ त्यसमा पनि भरपर्छ, यसलाई विधि पुर्‍याएर गर्न सबै भन्दा उत्तम विकल्प भनेको नेपाल प्रहरी अन्तगतको फरेन्सिक ल्यापमा पठाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभयो। त्यही सुझावको आधारमा समितिले समग्र सिस्टम नै अर्थ मन्त्रालयबाट प्राप्त भएको छ।’

उनले समितिले अर्थ मन्त्रालयका बजेट निर्माणमा सहयोगी भुमिका खेल्ने सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते अर्थ मन्त्रालयमा खटिने सुरक्षा कर्मीहरुलाई समेत सोधपुछ गरिसकेको बताए। सचिव अर्यालले बुधवार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्व अर्थसचिव र राजस्व सचिवहरुसँग छलफल गर्ने तयारी गरेको बताए।

त्यस्तै, समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको बताए।

‘बैठकमा अर्थमन्त्रीको विषयमा समाचार बाहिर ल्याउने मिडिया अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक सम्पादकहरुसँग छलफल गर्ने तय भएको छ। अर्थ मन्त्रालयका बजेट निर्माणमा सहयोगी भुमिका खेल्ने सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते अर्थ मन्त्रालयमा खटिने सुरक्षा कर्मीहरुलाई समेत सोधपुछ गरिसकेका छौँ,’ उनले भने।

सचिव अर्यालले समितिले संसद्ले समितिलाई दिएको क्षेत्राअधिकार भित्र रहेर छानबिन कार्य गरिरहेको बताए। उनले बुधवार वा बिहीवार बस्ने समिति बैठकमा निर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको पनि बताए।

सचिव अर्यालले समितिले अहिलेसम्म अनुसन्धान जारी रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताए। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell