PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!



प्रकाश भण्डारी

सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!
फोटोः प्रचण्डको सचिवालय

काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य केही समययता सघन छलफलमा छन्। पार्टी एकता नभए सहकार्यको रणनीतिमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सोमवार सिंहदरबारमा भेला भएका थिए। सिंहदरबारको बैठकमा पार्टी एकता गर्ने बारेमा छलफल भएको थियो। तत्काल पार्टी नै एकता गर्न सम्भव नभए एकता संयोजन समिति बनाएर जानुपर्ने निचोड सिंहदरबारको बैठकले निकालेको छ।

'एकता संयोजन समिति बनाएर एउटै चुनाव चिन्ह लिएर वामपन्थी पार्टी चुनावमा जाने भन्ने छ। अन्तिम निष्कर्ष निस्किसकेको छैन,' स्रोतको दाबी छ।

गृहकार्यका लागि कार्यदल बनाउनेबारेमा पनि बैठकमा छलफल भएको थियो। यद्यपि माओवादी, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी नै एकताको विषय माओवादी र समाजवादीको बैठकमा औपचारिक विषय बनिसकेको छैन।

माओवादी केन्द्रका नेता देव गुरुङले प्रचण्डले पार्टी एकताको विषय औपचारिक रूपमा पार्टीमा प्रवेश नगराएको बताए।

'छलफल त विभिन्न खालका भइरहेकै छन्। तर त्यस्तो एकताबारे केही भन्नुभएको छैन,' उनले भने।

वाम मोर्चा बनाएर जानुपर्ने धारण एकीकृत समाजवादी र माओवादी केन्द्रभित्रका शीर्ष नेताहरूले राख्न थालेका छन्।

यसरी भइरहेका छन् अनौपचारिक छलफल

वाम एकताका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि माओवादीले प्रस्ताव गरिसकेको छ। तर, एमालेको नेतृत्व वाम गठबन्धन गर्नेबारेमा पुरै सकारात्मक भइनसकेको निचोडमा माओवादी र समाजवादीका नेताहरू छन्। अर्कोतिर एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता गर्ने विषयमा पनि अनौपचारिक छलफल हुने गरेका छन्। तर, त्यसले मूर्त रूप लिन सकेको छैन। वाम नेताहरूलाई एकता गराउन गौतम पनि सक्रिय छन्। त्यसका लागि उनले सोमवार नेपाल-खनालसँग अनौपचारिक संवाद गरेका थिए भने मंगलबारको सिंहदरबारको भेला अघि प्रचण्डसँग भेट गरेका थिए।

त्यसो त माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पटकपटक भेटेका छन्। तर, उक्त छलफलले पनि औपचारिकता पाएको छैन।

बाबुरामको दाउ अर्कै

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले पनि जसपाबाट अलग हुने निर्णय गरिसकेका छन्। तर, भट्टराई अरू पार्टीसँग एकता गर्नेभन्दा पनि समाजवादी केन्द्र बनाउने तयारीमा जुटेका छन्। तर, समाजवादी केन्द्र बनाउन अरू कम्युनिस्ट नेता तयार छैन। मंगलबार सिंहदरबारमै प्रचण्ड र भट्टराईबीच पनि छलफल भएको थियो। उक्त छलफलमा समाजवादी केन्द्र बनाउने विषयमा कुराकानी भएको प्रचण्ड निकट नेता बत्ताउँछन्। प्रचण्डले पनि भेटघाटपछि बाबुराम भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नहुने बताएको जानकारी दिएका थिए।

कांग्रेसलाई दबाबमा राख्ने रणनीति

नेपाली कांग्रेसको सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले गठबन्धन गर्ने निर्णय गरेको थियो। कांग्रेसको संस्थापन पक्ष गठबन्धनको पक्षमा छ। तर, प्रचण्ड-नेपाल लगायतका नेता कांग्रेसको उक्त निर्णयप्रति विश्वस्त छैनन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले उपयोगको नीति अपनाएको भन्दै प्रचण्ड-नेपाल लगायतका नेताहरू कांग्रेसमाथि दबाब बढाउन निरन्तर गृहकार्यमा छन्। वाम पार्टीहरुबीच सहकार्य हुने वातावरण बनेमा कांग्रेस दबाबमा पर्ने भएकाले पनि कम्युनिस्ट नेताबीचको भेटघाट बाक्लिएको हो। उक्त रणनीति अन्तर्गत केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एमालेलाई धेरै प्रहार गर्न नहुने बताएका थिए। अर्कोतिर ओली पनि पछिल्लो समय प्रचण्ड-नेपालप्रति नरम हुन थालेका छन्। एमालेमा पनि अबको चुनावमा वाम एकता गरेर जाने मत बलियो हुन थालेको छ। स्थानीय तह निर्वाचनबाट असन्तुष्ट गठबन्धनका कम्युनिस्ट पार्टी र चुनावमा आफ्नो पुरानो साख गुमाएको एमालेका नेताहरुबीच चुनावी सहकार्यका लागि लगातार छलफल हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell