PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

चौथो चरणको मतदानमा पनि ऋषिलाई सर्वाधिक मत, पछ्याउँदै पेन्नी र ट्रस



पहिलोपोस्ट

चौथो चरणको मतदानमा पनि ऋषिलाई सर्वाधिक मत, पछ्याउँदै पेन्नी र ट्रस

बेलायतको कन्जर्भेटिभ पार्टी अहिले नयाँ नेता छनोट प्रक्रियामा व्यस्त छ। बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ ‘टोरी लिडर’ चुन्न मतदान भइरहेको छ।

हालसम्म चार चरणमा निर्वाचन भइसकेको छ। जसमा ऋषि सुनकले आफ्नो अग्रता कायम राखेका छन्। पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा ११५ मत पाएका उनले चौथौ चरणमा ११८ मत पाए।

सुनकलाई पेन्नी मोरडउन्ट र लिच ट्रसले टक्कर दिइरहेका छन्। चौथो चरणमा पेन्नीले ९२ मत र ट्रसले ८६ मत प्राप्त गरे। पहिलो चरणमा पेन्नीले ६७, दोस्रोमा ८३, तेस्रोमा ८२ मत पाउँदा ट्रसले क्रमश ५०,६४ र ७१ मत पाएकी थिइन्। चौथो चरणको मतदानबाट पूर्व मन्त्री केमी बडेनच प्रधानमन्त्री बन्ने ‘रेस’ बाट बाहिरिइन्।

टोरी लिडर बन्न दुई जना उम्मेदवार ‘फाइनल’ नभएसम्म कन्जर्भेटिभ पार्टीमा यसरी नै निर्वाचन हुन्छ। र, दुई जनाबिच फेरि निर्वाचन हुनेछ। त्यसमा जो जित्छ उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्नेछन्।

आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell