PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

वाग्मती प्रदेशको खर्च ६६ प्रतिशत मात्रै, १९ अर्ब रुपयाँ भन्दा बढी 'फ्रिज'



पहिलोपोस्ट

वाग्मती प्रदेशको खर्च ६६ प्रतिशत मात्रै, १९ अर्ब रुपयाँ भन्दा बढी 'फ्रिज'

हेटौंडा : वाग्मती प्रदेशले गत आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा प्रदेश सरकारले मात्र ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रूपैयाँ खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत रहेको छ। जसमध्ये चालूतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत र पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले चालूतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ९७ करोड १४ लाख ९८ हजार ३ सय ८० रूपैयाँ खर्च गरेको सूचना अधिकारी रिजालले जानकारी दिए। उनले गत आर्थिक वर्षमा पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ बजेट ल्याएको सरकारले २१ अर्ब एक करोड २८ लाख १० हजार ४ सय ५४ रूपैयाँ मात्रै खर्च भएको बताए।

गत आर्थिक वर्षको अन्तिममा बजेट खर्च बढाउन असार महिनामा सरकारले धेरै खर्च गरे पनि प्रदेश सरकारको १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रूपैयाँ बजेट ‘फ्रिज’ भएको छ।

असार महिनामा मात्रै १३ अर्ब खर्च

वाग्मती प्रदेश सरकारले गत असार महिनामामात्रै १३ अर्ब रूपैयाँ बजेट खर्च गरेको छ। गत आर्थिक वर्ष २०७८-७९ को अन्तिम महिना अर्थात असारमा मात्रै प्रदेश सरकारले १३ अर्ब ७९ करोड ४५ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको हो। अघिल्लो आर्थिक वर्षमा पनि वाग्मती सरकारले असारमा करिब १२ अर्ब रूपैयाँ बजेट खर्च गरेको थियो। आर्थिक वर्षको अन्तिममा मनलाग्दी ढंगले हुने बजेट खर्चलाई प्रदेश सरकारले गत आर्थिक वर्ष पनि रोक्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

सरकारले गत आर्थिक वर्षको ११ महिना अर्थात जेठसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रूपैयाँ मात्रै खर्च गरेको थियो। तर असार मसान्तसम्म सरकारको खर्च ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रूपैयाँ पुगेको छ। ११ महिनामा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको सरकारले असार एक महिनामै खर्च ६६ दशमलव १९ प्रतिशत पुर्‍याएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। आर्थिक वर्षको अन्तिम महिना असारका १९ दिनमै ३ अर्ब ९९ करोड ८७ लाख रूपैयाँ बजेट खर्च गरेको प्रदेश सरकारले असारको बाँकी १३ दिनमा थप ९ अर्ब ७९ करोड ५८ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell