PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कहिले कम होला काठमाडौंमा पार्किङको समस्या? गाडी पार्किङ गर्ने ठाउँमा डिस्को र पसल!



भावना शर्मा

कहिले कम होला काठमाडौंमा पार्किङको समस्या? गाडी पार्किङ गर्ने ठाउँमा डिस्को र पसल!

काठमाडौं : सडकमा जथाभावी पार्किङ। त्यो सँगै बढेर आउने ट्राफिक जामले आम सर्वसाधारणले हैरानी खेप्दै आएका छन्। त्यसमाथि सवारी पार्किङ गर्नुपर्‍यो भने कतै ठाउँ नै छैन। यो समस्या व्यस्त काठमाडौं शहरमा आम मानिसले भोग्दै आएका छन् दिनहुँ।

आखिर काठमाडौंको पार्किङ व्यवस्था कहिले सुध्रिएला? सम्बन्धित निकायहरू के गरिरहेका छन् त?

काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा तीन वर्षदेखि 'स्मार्ट पार्किङ'को सेवा दिइरहेको छ। सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेको थियो। महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स' सँग सहकार्य गरेर काठमाडौंमा स्मार्ट पार्किङको अवधारणा ल्याएको थियो। सुरुमा खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान), प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको थियो।

अहिले पनि महानगरपालिकाले स्मार्ट पार्किङ सेवा दिइरहेको छ। तर, राजधानीको पार्किङ समस्या बिसबाट उन्नाइस हुन सकेको छैन। सुरु भएका स्मार्ट पार्किङ स्मार्ट हुन सकेको छैन।

धेरैले आशाको रुपमा हेरेका काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई पनि काठमाडौंको पार्किङ व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ। उता काठमाडौं उपत्यकाको ट्राफिक जिम्मेवारी पाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई पनि पार्किङ चुनौतीको विषय बनेको छ।

काठमाडौंमा हुने पार्किङलाई समाधान गर्न ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा चौधरी र मेयर बालेन साहबिच छलफल पनि भएको छ।

काठमाडौंभित्र संचालन भएका कतिपय निजी तथा सरकारी कार्यालयहरूको आफ्नै पार्किङस्थल छैन। त्यस्तै केही सपिङ मल, व्यापारिक केन्द्रमा पनि पार्किङ छैनन्। भएका ठाउँमा पनि पर्याप्त क्षमताको पार्किङ देखिँदैन। जसले गर्दा सडक किनारमा र जथाभावी पार्किङ गर्नु पर्ने बाध्यता रहेको छ। यसको कारण काठमाडौंमा ट्राफिक जाम समेत हुने गरेको छ।

काठमाडौंका मुख्य सडकहरू केही फराकिला भए पनि कोर क्षेत्र जस्तै न्यूरोड, दरबारमार्ग लगायतमा सडक चौडा छैनन्। जसले गर्दा सडकमा नै पार्किङ गर्दा थप समस्या हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा चौधरीले बताइन्।

'यहाँ सृजित पार्किङको समस्याले हामीलाई सताइरहेको छ। बाटोमा नै पार्किङ गरेको छ। प्रहरीले कारबाही गर्छ तथापि प्रहरी हट्ने बितिक्कै पुनः त्यहाँ लगेर राखिएको अवस्था छ,' डिआइजी चौधरीले भनिन्।

पार्किङ भनेको ठाउँमा डिस्को !

पछिल्लो समय बनेका ठुला ठुला सपिङ मल, होटेल, अस्पताल, सुपर मार्केटले आफ्नै पार्किङ क्षेत्र समेत बनाएका छन्। जसले गर्दा त्यहाँ आउने सेवाग्राहीहरूले अन्यत्र पार्किङ गर्नु पर्दैन। टंगालमा रहेको भाटभटेनी सुपर मार्केटले थोरै जग्गामा धेरै गाडी पार्किङ गर्न मिल्ने भर्टिकल पार्किङ समेत संचालनमा ल्याएको छ। भाटभटेनी टंगाल आउटलेमा ११ तलाको भर्टिकल पार्किङ छ। चार वटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने छन्। एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्ममा पार्किङ गर्न सकिन्छ। भाटभटेनीको आधुनिक पार्किङ एउटा उदाहरण बनेको छ।

तर, दैनिक सयौँको सङ्ख्यामा सेवा लिन पुग्ने काठमाडौंको सरकारी अस्पताल वीरमा समेत पार्किङ सुविधा छैन। सेवाग्राही सडक किनारा खोजेर पार्किङ गर्न बाध्य छन्।

त्यस्तै पार्किङको लागि भने महानगरबाट सेवा सुविधा लिएर बनेका भवनहरुमा पार्किङ नभएर अरु नै व्यवसाय भइरहेको ट्राफिक प्रहरीको गुनासो छ। काठमाडौंका अधिकांश डिस्कोहरू जमिन मुनि रहेको ट्राफिक प्रहरीले बताएको छ। त्यस्तै सवारी पार्किङ गर्नुपर्ने ठाउँमा क्यान्टिन, अस्पतालका सामान राख्ने गोदाम रहेका छन्।

'काठमाडौंमा भएका अधिकांश डिस्कोहरू जमिन मुनी छन्। नगरपालिकाबाट भवन स्वीकृत गराउँदा पार्किङ हो भनिएको छ तर त्यहाँ डिस्को छ। केही हस्पिटलहरूमा पार्किङ क्षेत्रमा गोदाम राखिएको छ,' काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले भने।

त्यस्तै सरकारी कार्यालय राहदानी विभागले समेत पार्किङ क्षेत्रमा राहदानी वितरण गर्ने गरेको एसपी दासले बताए। पार्किङका लागि भन्दै नक्सा पास गरिएको स्थानमा अरु व्यवसाय गरेको गुनासो बढेपछि महानगरले ती काम तत्काल रोक्न चेतावनी दिइसकेको छ।

बाटोमा मोटरसाइकल ग्यारेज

गत पुस महिनामा तत्कालीन सहरी विकास मन्त्री रामकुमार झाँक्रीले काठमाडौंको धोबीखोलास्थित कोरिडोरमा अनुगमन गरेकी थिइन्। कोरिडोरको पैदल यात्रु हिँड्ने स्थानमा ग्यारेज, निर्माण सामाग्री  र अन्य कारणले फुटपाथ ओगटेको भेटिएको थियो। उनको त्यो सांकेतिक अनुगमन पछि ग्यारेज व्यवस्थापनको काम खासै अगाडी बढ्न सकेको देखिएको छैन। अहिले पनि सडकका पैदल यात्रु हिँड्ने ठाउँमा यस्तै अवरोध देखिन्छ।

यसरी विभिन्न बहानामा पैदल यात्रु हिँड्ने ठाउँमा अवरोध हुँदा सर्वसाधारणले हैरानी खेप्नु परेको छ। चक्रपथ रिङरोड बाहिर ५८ वटा र भित्र ४५ वटा ग्यारेजहरू रहेको देखिएको छ। यस्ता ग्यारेजहरू हटाउन पहल भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। जसको लागि सडक विभाग, काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले संयुक्त रुपमा कार्यदल बनाएर काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell