
काठमाडौंः तपाइले आजभोलि ट्याक्सी अथवा बसमा छुटेको वा हराएको सामान फिर्ता पाएका समाचारहरु सुन्नु भएको होला। ट्याक्सीमा छुटेका हजारौँ रुपैयाँ र सुनका गहना समेत ट्याक्सी चालकले ट्राफिकलाई र ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाउने गरेका छन्।
पछिल्लो समय उजुरी परेका मध्ये धेरै जसो सामानहरू भेटिने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछन्। गएको आर्थिक वर्ष २०७८/७९ मा सामान हराएको भन्दै उजुरी परेकामध्ये करिब ८० प्रतिशत समान फेला परेका छन्।
आर्थिक वर्षमा सामान हराएको भन्दै ट्राफिक कार्यालयमा ४ सय ९१ वटा उजुरी परेको थियो। त्यसमध्ये ३ सय ९२ वटा सामान फेला परेको कार्यालयका एसपी सञ्जीव शर्मा दासले बताए। त्यस्तै बाँकी रहेका ९७ वटा घटनामा अनुसन्धान भइरहेको छ।
सामान मात्र होइन हराएका मोटरसाइकल समेत भेटिने गरेका छन्। तर भेटिने प्रतिशत भने निकै कम नै छ। आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५ सय ९० वटा मोटरसाइकल हराएको भन्दै उजुरी परेका थिए। त्यसमध्ये ३ सय ७४ वटा चोरीको मोटरसाइकल ल्याएर सवारी धनीलाई बुझाइएको एसपी शर्माले बताए।