PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण, भारतबाट आउनेमा देखियो कोभिड-१९



पहिलोपोस्ट

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण, भारतबाट आउनेमा देखियो कोभिड-१९
फाइल फोटो

काठमाडौं : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मंगलबारमात्रै यस प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको हो।

संक्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ। मंगलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो ।

‘सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ,’ उनले भने।

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ। पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा संक्रमण भइसकेको छ।  संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell