PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ओली-नेपालको गर्जन : कांग्रेसले गालामा झ्याम्म झिल्का दिनेगरी हान्छ, १५ वर्ष शासन गर्न मिलौँ भने



प्रकाश भण्डारी

ओली-नेपालको गर्जन : कांग्रेसले गालामा झ्याम्म झिल्का दिनेगरी हान्छ, १५ वर्ष शासन गर्न मिलौँ भने

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक अर्कामाथि फेरि पनि आरोप प्रत्यारोप गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रमहरुमा ओली र नेपालले एमाले विभाजनदेखि स्थानीय तह निर्वाचनमा कमजोर परिणाम आउनुको कारण गठबन्धन र अन्तर्घात भएको बताएका छन्।

ओलीले वाग्मती प्रदेशको भेलालाई प्रज्ञा प्रतिष्ठान कमलादीमा र नेपालले आफ्ना पार्टीका जनप्रतिनिधिका लागि बानेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गरेका थिए। वाम एकताबारे चर्चा भइरहेका बेला पूर्व सहकर्मी समेत रहेका ओली-नेपालले एक अर्काविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

ओली-नेपालको सम्बोधनमा गठबन्धन, स्थानीय तह निर्वाचन र आउने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मुख्य विषय बन्यो। एकीकृत समाजवादीभित्र नेता झलनाथ खनाल लगायतले एमालेसँगै सहकार्य गर्नुपर्ने मत राखिरहेका बेला ओली-नेपालको एक अर्काविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

त्यसो त नेपालले केही दिन अघि एकीकृत समाजवादीको वाग्मती प्रदेशको वैठकलाई सम्बोधन गर्दै एमालेलाई धेरै हिर्काउन जरुरी नभएको बताएका थिए।

सिहंदरबारको भेलालाई ओलीले भने फेरि फुटका लागि जुट

नेपालसहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सचिवालय सदस्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मंगलवार सिंहदरवारमा पार्टी एकताबारे छलफल गर्न भेला भएका थिए। उनीहरुको भेलालाई ओलीले 'फुटका लागि जुट' भएको टिप्पणी गरे।

उनले भने, 'फेरी अर्को फुट चाहिएको होला। त्यो जुट्ने वाला होइन।'

'१५ वर्ष शासन गर्न मिलौँ मिलौँ भने'

नेपालले प्रशिक्षण कार्यक्रममा एमालेबाट आफू कसरी विभाजित भएको भन्नेबारेमा प्रकाश पार्ने प्रयास गरेका थिए। ओलीलाई १५ वर्ष शासन गर्ने इच्छा पलाएपछि पार्टी फुटाउन बाध्य भएको नेपालको भनाइ थियो। एमालेभित्र मनपरि हुन थालेपछि मात्रै आफू बाहिरिएको नेपालको भनाइ थियो।

'मिलौँ मिलौँ भन्ने कारण के रहेछ भने आफ्नो शासनलाई ५ वर्ष होइन १५ वर्ष पुर्‍याउने,' ओलीले केही समय आफूलाई झुलाएको बताउँदै नेपालले भने।

'कांग्रेसले गालामा कहिले झ्याम्म हान्छ झिल्का दिनेगरी'

ओलीले नेपालसहितको गठबन्धनलाई भ्रष्ट देशद्रोही गठबन्धन भएको आरोप दोहोर्‍याए। सत्ता गठबन्धनलाई ओलीले लगातार देशद्रोही गठबन्धन भएको आरोप लगाउदै आएका छन्।

बुधवार ओलीले सत्ता गठबन्धनलाई एमालेले फुटाउनै नपर्ने स्वार्थको टकरावका कारण आफैँ फुट्ने दाबी गरे। ओलीले नेपाली कांग्रेसले नेपाल लगायतलाई उपोग गरेर मिल्काउने बताए।

उनले भने, 'कांग्रेसले कहिले केहिले यिनीहरुका गालामा झ्याम्म हान्छ झिल्का दिनेगरी। उनीहरु च्याप्प पिडुलामा समातेर रुन्छन् - ठूलो छु भन्दैमा हामीलाई नहेप, हेपाइ अति भो, गठबन्धन टुट्न हुँदैन, छोड्दिनँ। हामी त्यस्ताहरुको वामपन्थी बन्ने अपेक्षा गरेर बस्ने?'

नेपालको टिप्पणी 'बा' भन्नेहरुको बिगबिगी हुन थाल्यो

एमालेको चर्को आलोचना गरेका नेपालले आफ्नै पार्टी एकीकृत समाजवादीको पनि कमजोरी औँल्याएका थिए। उनले आफ्नो पार्टीमा अहिले अरुमा भर पर्ने प्रवृति बढेको बताए।

उनले स्थानीय तह निर्वाचनमा एक्लै उठ्ने आँट समेत नगरेर एकीकृत समाजवादीका नेताहरु मैदानबाट भागेको टिप्पणी गरे। उनले सत्ता गठबन्धनभित्र पनि आफ्नो पार्टीलाई हराउने प्रवृति देखिएको बताएका थिए।

'आफूभन्दा एकीकृत समाजवादी ठूलो हुन्छ कि भन्ने चिन्ताले निन्द्रा हराम भो। पार्टीभित्र विद्रोह गर्न थाले। पार्टीको नीतिभन्दा विपरित गएर बोल्न थाले,' नेपालले भने।

नेपालले एमालेमा 'बा'भन्नेहरुको संख्या बढेपछि पार्टी फुटेको बताएका छन्।

'बा भन्नेहरुको बिगबिगी हुन थाल्यो। सिंगो पार्टीभित्र चरम असन्तुष्टि पैदा भयो। पार्टीको नियमित बैठक बस्न छोड्यो। बैठकमा कसैगरी आइहाल्यो भने बिचमै बैठकको अन्त्य गर्ने प्रवृति भयो,' नेपालले भने।

एकताका लागि आह्वान, शर्त : गठबन्धन छोड्नुपर्ने

नेपालको चर्को आलोचना गरेका ओलीले पार्टी एकताका लागि आह्वान भने गरेका छन्। तर, त्यसका लागि ओलीको शर्त छ- नेपाल लगायतले गठबन्धन छोडनुपर्ने।

'वामपन्थी छौ कोही भने एमाले खुला छ। आफ्नै साथीहरु त भोट दिन अरुलाई कुदिराखेका बेला त्यस्ताको आशा गर्ने?' ओलीले एकताका लागि धेरै आश नगर्न भन्दै कार्यकर्तालाई भने।

उनले एमालेका नेता/कार्यकर्ताको मति ठिक हुनुपर्ने बताएका छन्। एमाले चुनावमा पराजित हुनु प्राविधिक कारण भएको ओलीको बुझाइ छ।

उनले एमाले पराजित भएको भन्दा पनि दोस्रो ठूलो पार्टी भएको भन्दै नेपाल लगायतका कम्युनिस्ट नेताहरुलाई भ्रम नफैलाउन चेतावनी दिए।

'एमालेको वनै समाप्त पार्ने भन्ने। अहिले पनि दोस्रो पार्टी एमाले हो। सम्पै झुम्मिदा पनि २०६ ल्याएको छ। सबभन्दा ठूलो पार्टी भनेको गठबन्धनको। तीन प्रतिशत पुर्‍याउनेले एमाले हार्‍यो रे। यो हल्लाका पछाडि पर्नुपर्ने केही कारण छैन,' ओलीले भने।

ओलीले नेपाल लगायतका नेताहरुको अवस्था निकै नै कमजोर भएको टिप्पणी पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell