
काठमाडौं : प्रतिबन्धित पदार्थ ‘युरेनियम’को कारोबार गरेको आशंकामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठूलदाइको होटलमा कोठा लिएर बसेकाहरुलाई एक किलो ८७.३ ग्राम युरेनियमसहित पक्राउ गरेको जानकारी दिएको छ। तर, प्रहरीले ‘युरेनियम जस्तो’ देखिने पदार्थ बरामद भएको भनेको छ।
होटलबाट पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका ४१ वर्षीय शिव शंकर पासवान, ३७ वर्षीय मुकेश कुमार साह, ४३ वर्षीय प्रदीप पुरी, ४० वर्षीय दिलीप कुमार शर्मा, ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर र खोटाङका ३२ वर्षीय किरन राई र मोरङका ४४ वर्षीय लक्षमण शर्मा रहेका छन्।
त्यस्तै, मंगलवार पनि मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुधफारमबाट प्रहरीले अन्य सात जनासहित ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको दाबी गरेको छ।
प्रहरीले गोरखाका ४५ वर्षीय जीवन गुरुङ, महोत्तरीका अब्दुल गनी खान, ३० वर्षीय चन्दन कुमार महतो, मोरङका ५५ वर्षीय रविन्द्र गच्छेदार, ३६ को दीपक बहादुर भ्लोन, उमेश प्रसाद यादव र श्याम घिमिरे रहेका छन्।
यसअघि २०७७ फागुनमा प्रहरीले बौद्धबाटै चार जनालाई युरेनियमको कारोबार गरेको भन्दै पक्राउ गरेको थियो।
युरेनियम प्राकृतिक पदार्थ हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ।
यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्यवान् धातुका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्धमा जापानमा हानिएको पारमाणु बममा यो धातुको प्रयोग भएको थियो।