PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!



पहिलोपोस्ट

युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!

काठमाडौं : मोरङमा १ वर्षीया बालिकालाई अपहरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरित बालिकालाई उद्धार गर्न पनि प्रहरी सफल भएको छ। सोमवार बिहान ९ बजे विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोड अगाडिबाट बालिकाको अपहरण भएको थियो।

विराटनगर बस्ने दीपेन यादवकी १ वर्षीया छोरीको अपहरण भएको हो। बुधवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै बालिका अपहरण गर्ने दुई अभियुक्तलाई सार्वजनिक गरेको छ।

विराटनगर रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्र कुमार साह र २७ वर्षीया अनु साहलाई प्रहरीले पक्राउ गरेको हो। रविन्द्र घटनाको मुख्य योजनाकार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

फिरौतीको लागि बालिकाको अपहरण भएको प्रहरीको दाबी छ। तर, उनीहरूले फिरौती रकम भने मागेका थिएनन्।

कसरी भयो घटना ?

२ महिना अगाडि दीपेन यादवको मोबाइलमा अपरिचित नम्बरबाट फोन आउँछ। फोनमा महिलाको स्वर सुनिन्छ। उनी विराटनगरकी अनु साह हुन्छिन्। तर, यसअघि दीपेन र अनुको चिनजान भएको हुँदैन। त्यसरी आएको फोनले उनीहरूबिच चिनजान हुन्छ।

त्यो फोन कुनै संयोगवश आएको हुँदैन। अनु र रविन्द्रले योजना अनुसार नै दीपेनलाई फोन गरेका हुन्छन्। त्यही फोनको कनेक्सन दीपेनकी १ वर्षीय छोरीको अपहरणसँग जोडिएको छ।

फोनमा कुराकानी बाक्लिँदै जान्छ। उता रविन्द्रले पनि अनुलाई दीपेनसँग नजिकिन भनेका हुन्छन्। रविन्द्रको कुरा अनुसार नै अनुले काम गर्दै जान्छिन्।

उनीहरूको कुराकानी फोनमा मात्र होइन अब नियमित भेटघाट समेत हुन थाल्छ। दीपेनकी श्रीमती भने काठमाडौंमा बस्दै आएकी हुन्छिन्। भेटको क्रममा दीपेनले १ वर्षीय छोरी समेत भएको खुलाउँछन्। प्रहरीले पक्राउ गरेका दुई अनु र रविन्द्रको चिनजान भने २/३ वर्ष अगाडि नै भएको हुन्छ।

अपहरण गर्ने योजना अनुसार नै अनुले दीपेनसँग सम्बन्ध बढाएको प्रहरी अनुसन्धान खुलेको छ। त्यसपछि अनुले दीपेनलाई छोरी हेर्न मन लागेको भन्दै पटक-पटक छोरी भेटाउन आग्रह गर्थिन्। सोमवार बिहान दीपेनले कारमा १ वर्षीय छोरी लिएर घरबाट निस्किन्छन्।

विराटनगरको रोडशेषमा रहेको स्वागतम होटेलअगाडि पुगेपछि अनुलाई कारमा चढाउँछन्। बच्चाको लागि गिफ्ट भन्दै उनले नयाँ लुगा समेत बोकेर ल्याएकी हुन्छिन्।

अनुले कारमा नै नयाँ लुगा फेर्दिएर पुरानो बच्चाको लुगा आफैसँग राखेको प्रहरीको दाबी छ। महेन्द्र मोरङ क्याम्पस जाने रोडको चिया पसलमा गएर दुई कप चिया अर्डर गर्छन्। तर, अनुले चिया खान मान्दिनन्। केही समयपछि अनुले दीपेनसँग मोबाइल मागी फोन गर्नु छ भनेर बाहिर निस्किन्छिन्।

उता रविन्द्र पहिले देखिनै त्यहाँ मोटरसाइकल लिएर अनु र बच्चालाई रिसिभ गर्न तयारी अवस्थामा  बसेका हुन्छन्। त्यहाँबाट दुवै जना रविन्द्रको प्रदेश ०१-०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहवी इनरुवा सप्तरीको राजविराज हुँदै कुनौली पुगेको प्रहरीको अनुसन्धानमा देखिन्छ।  त्यहाँबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रविन्द्र भने विराटनगर नै फर्किन्छन्।

रविन्द्र साहले अनुको मोबाइल मार्फत पीडित परिवारलाई फेसबुक लगायत सामाजिक सञ्जालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको, ‘भोलि फोन आउँछ अहिले शान्त भएर बस्नु’ भनेको जस्ता मेसेज गरेको बुधवार पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।भारतको बिहार दरभंगा स्थित अनु साह बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकोमा बुधवार बिहान प्रहरी पक्राउ गर्न सफल हुन्छ। रविन्द्र साहलाई बुढिगंगा-१ स्थित श्रीराम ट्रेडर्सबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। दुई जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell