PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कास्कीमा पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने



पहिलोपोस्ट

कास्कीमा पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं : कास्की जिल्लाम अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ। बुधवारबाट जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरिएको निर्वाचन कार्यालय पोखराले जनाएको हो।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश गर्न सकिने प्रमुख निर्वाचन अधिकृत एवं कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए।

उनका अनुसार यसअघि कार्यालयमै उपस्थित भएर फाराम भर्ने र दर्ताको काम भइरहेकामा पछिल्लो समय नाम दर्ता गर्नेको भीड बढेसँगै मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्न निर्वाचन आयोगले अनलाइन दर्ताको सेवा दिएको हो।

‘मतदाता नामावली दर्ताका लागि भीडभाड भएका कार्यालयमा अनलाइनको व्यवस्था गरिएको हो। यसबाट लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ, काम छिटो सम्पन्न हुनेछ। हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न सक्नुहुनेछ,’ उनले भने।           

जुनसुकै ठाउँबाट पनि अनलाइनबाट आफ्नो विवरण पेश गरेपछि सो फाराममा उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपीसहित फोटो खिच्न र औँठा छाप दिन कार्यालयमा उपस्थित हुनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ। आयोगले पहिलोपटक गत असार २९ गते राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा अनलाइन दर्ता सुरु गरेको थियो। पछिल्लो पटक कास्कीसहित काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा जिल्लामा सुरु गरिएको हो।

यसैगरी जिल्लामा स्थानीय तहको निर्वाचनपछि १० हजार हाराहारीमा नयाँ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनको मिति घोषणापछि रोकिएको मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य असारदेखि पुनः सुरु गरिएकामा हालसम्म सो सङ्ख्यामा नाम नयाँ दर्ता भएको कार्यालय प्रमुख पराजुलीले बताए।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति केही दिनमै घोषणा हुने चर्चाका बीच निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड बढेको छ। गाउँगाउँबाट सर्वसाधारण आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गर्नका लागि कार्यालयमा आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell