PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

छानबिन समितिमा तीन घण्टासम्म जनार्दन शर्माको बयान : सीसीटीभीको क्षमताबारे थाहा भएन, अरु सुरक्षाकर्मीसँग बुझ्दा हुन्छ



पहिलोपोस्ट

 छानबिन समितिमा तीन घण्टासम्म जनार्दन शर्माको बयान : सीसीटीभीको क्षमताबारे थाहा भएन, अरु सुरक्षाकर्मीसँग बुझ्दा हुन्छ

काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरेको छ।

बयानको लागि सिंहदरबार पुगेका शर्माले समितिमा आफूले कुनै पनि अनधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा प्रवेश नगराएको जिकिर गरेका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरू नष्ट गरेको उनीमाथि आरोप छ।

उनले आफूसँग २४ सै घण्टा रहने सुरक्षाकर्मीसँग पनि घटनाको बारेमा बुझ्न आग्रह गरेको समितिका एक सदस्यले जानकारी दिए। समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हराएको प्रकरणबारे पनि छानबिन गरिरहेको छ।

आज समितिले शर्मासँग सीसीटीभी फुटेज हराएको बारे पनि प्रश्न गरेको थियो। त्यसको जवाफ दिँदै शर्माले सीसीटीभीको फुटेज क्षमता कति हुन्छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्। शर्माले बजेटको सिद्धान्त अनुसार नै बजेट तर्जुमा भएको बताएका छन्।

समितिलाई १० दिनमा छानबिन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ। तर, समितिले म्याद थप गर्ने तयारी गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समयमा अब दुई दिन मात्रै बाँकी छ।

शर्माले समितिलाई करिब तीन घण्टा बयान दिएर बाहिरिएका छन्। उनले संचारकर्मीसँग प्रतिकृया दिने क्रममा आफूले सबै कुराको जानकारी समितिमा दिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell