काठमाडौं : नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए।
उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ। त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ। यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ। एम अधिकारी को हो भनेर खोजिरहेका छौँ। सम्बन्धित व्यक्ति म त्यो पार्टीमा छैन, २०७३ साल देखि भन्नुभएको छ। सम्बन्धित पार्टी भन्छ, ती मान्छे हाम्रो पार्टीमा छैनन्।’
सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताए। उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे।
सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए। उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताए।
उनले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो? भन्दै प्रश्न गरे।