बुटवल : रुपन्देहीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौलीस्थित संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन्।
भुसालले ती बालिकालाई आफ्नै घरमा करणी गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले भुसाललाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाँजासहित दुई युवक पक्राउ
सैनामैना नगरपालिकाका दुई ठाउँबाट प्रहरीले एक किलो पाँचसय ग्राम गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।
मंगलवार सैनामैना नगरपालिका वडा नम्बर १० का २७ वर्षीय रोशन थारु र वडा नम्बर ५ का २७ वर्षीय कमल कुमाललाई एक किलो पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।
उनीहरुले आफ्नै घरमा लागुपदार्थ गाँजा राखेर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार थारुको घरबाट एक किलो ३५० ग्राम र कमल कुमालको घरबाट दुई सय १० ग्राम गाँजा बरामद गरिएको हो।