
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्। बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्।
उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरे। उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे। उनले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक असन्तुलनको उत्पत्ति भएको बताए। अध्यक्ष लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप समेत लगाए।
उनले भने, ‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ। विदेशी चलखेल र प्रभाव दिनदिनै बढिरहेको छ। विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ। सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ।’
अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढिरहेको बताए। उनले सत्तासीन दलहरु कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको बताए।