
काठमाडौं : अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन्। ‘कृष्ण-लीला’ का अभिनेता र निर्देशकको एकैदिन परेको जन्मदिनको अवसरमा बिहीवार विशेष कार्यक्रम आयोजना गरिएको थियो।
जन्मदिन विशेष कार्यक्रममा फिल्मकी अभिनेत्री श्रद्धा क्षेत्री तथा कलाकार बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित भए। निर्माताले जन्मदिनको अवसरमा ‘सरप्राइस पार्टी’ आयोजना गरेकोमा दुवैले खुसी व्यक्त गरे।
सोहीबिच श्रद्धाले आफ्नो ‘को-एक्टर’ पुष्पलाई राधाकृष्णको मूर्ति र परफ्युम ‘गिफ्ट’ गरिन्। उपस्थित संचारकर्मीले उनीहरुबिच अफेयर रहेको चर्चालाई थप बलियो बनाएको भन्दै प्रेमसम्बन्धी प्रश्नहरु सोधे। तर, श्रद्धाले सो उपहार फिल्मसँगै सम्बन्धित भएको बताइन्। दुवैले आफूहरु निकट मात्रै रहेको दावी गरे।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा प्रकाश कार्की र केवल तामाङ निर्माणका रूपमा रहेका छन्। आरआर फिल्मसको ब्यानरमा बनेको ‘कृष्ण-लीला’ ले प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रचार समेत तीव्र बनाएको छ।
फिल्ममा पुष्प, श्रद्धा, बुद्धि र रविन्द्रका साथै भावना गुरुङ, नवीन रेग्मी, हिउंवाला गौतमलगायतका कलाकारको अभिनय छ। फिल्ममा लक्ष्मण सुवेदीको पटकथा, शिव ढकाल र बाबु सुवेदीको छायांकन रहेको छ। यो फिल्म कृष्ण जन्माष्टमीको अवसरमा भदौ ३ रिलिज हुँदैछ।