PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतको पहिलो आदिवासी राष्ट्रपति बनिन् मुर्मू, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई



पहिलोपोस्ट

भारतको पहिलो आदिवासी राष्ट्रपति बनिन् मुर्मू, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई
Photo : Reuters

द्रौपदी मुर्मू भारतकी नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। सत्तारुढ भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी मुर्मूले विपक्षीका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन्

मर्मू आदिवासी समुदायबाट भारतको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन्। उनको जन्म उडिसाको मयूरभञ्ज जिल्लाको बैदापेसी गाउँमा भएको हो। सन्थाल समुदायकी मुर्मूले सन् १९९७ देखि राजनीतिक यात्रा सुरु गरेकी थिइन्।

उनी भारतकी दोस्रो महिला राष्ट्रपति हुन्। प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। राष्ट्रपतिको उम्मेदवार बन्नु अघि मुर्मू झारखण्ड राज्यकी राज्यपाल थिइन्।  

जुलाई २४ मा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिनेछ। त्यसपछि मर्मूले राष्ट्रपतिको कार्यभार सम्हालेनछिन्।

भारतकी राष्ट्रपति निर्वाचित मुर्मूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई र शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास रहेको भण्डारीले बताएकी छिन्।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएकाछन्। देउवाले नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell