
रनिल विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा सपथ लिएका छन्। आलोचना र सडकमा जारी विरोध प्रदर्शनबिच राष्ट्रपतिको कार्यभार सम्हालेका रनिलले देशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्।
रनिलको निर्देशनसँगै सरकारविरोधी प्रदर्शन भइरहेको स्थलहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। राष्ट्रपति भवन कब्जामा लिएका प्रदर्शनकारी हटाउन ठूलो संख्यामा प्रहरी र सेना तैनाथ गरिएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिनुअघि राष्ट्रपति गोताबाय राजपाक्षे भाग्न सफल भएका थिए। विदेश पुगेका उनले राजीनामा दिएपछि रनिल राष्ट्रपति बनेका हुन्।
राष्ट्रपति बनेका रनिल जनताबिच ‘अनपपुलर’ छन्। ६ पटक श्रीलंकाका प्रधानमन्त्री बनेका उनी राष्ट्रपति बनेको प्रदर्शनरत् समूहलाई मन परेको छैन। राजपाक्षेसँगै रनिलको बहिर्गमन हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ।
यता, राष्ट्रपति बनेपछि रनिलले सार्वजनिक सम्पत्तिमाथि आक्रमण र कब्जा गर्नु अप्रजातन्त्रिक कार्य भएको बताएका छन्।
‘सरकार ढाल्न खोज्छु, सरकारी भवन कब्जामा लिनु प्रजातन्त्र होइन,’ उनले भनेका छन्। यस्तो गतिविधिमा संलग्न हुनेहरुलाई कारवाही गरिने उनले बताए।
रनिल राष्ट्रपति भएसँगै प्रदर्शन कुन दिशामा अघि बढ्छ भनेर प्रदर्शनरत समूह नै विभाजित भएको बताइन्छ। अब रनिल नेतृत्वको सरकारले प्रदर्शनलाई कम गराउन जुनसुकै माध्यम प्रयोग गर्न सक्ने उनीहरुको बुझाइ छ।
त्यसैको सिलसिला हो, सरकार विरोधी क्याम्पमा प्रहीको हस्तक्षेप। सेना र प्रहरीले प्रदर्शनकारीहरु बसोवास गर्दै आएका टेन्टहरु भत्काएका छन्। धेरै ठाउँमा झडप समेत भएको छ। राष्ट्रपति भवन कब्जा लिएका प्रदर्शनकारीहरुले शुक्रवार सो भवन खाली गर्ने बताएका थिए। तर, सेना र प्रहरी भने बिहीवार राति नै राष्ट्रपति भवन प्रवेश गर्दै प्रदर्शनकारीहरुलाई निकालेका थिए।