PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको धापासी चोकबाट उत्तरतिर १५ मिनेट पैदल हिँडेपछि पुगिन्छ - काठमाडौं फेन्सिङ एकेडेमी। तीन तले निलो अस्टसिद्धी भवनको दोस्रो तल्ला।  

बाक्लो सेतो पोसाक, पछाडिबाट तार जोडेर ल्याएर हातमा तरबार बोकेर अभ्यास गरिरहेका भेटिन्छन् खेलाडी। अनि छेवैमा जोडिएको छ स्कोरबोर्ड। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा 'टुट' गरेर स्कोरबोर्डबाट आवाज आउँछ।  

बिहान सातै बजे एकेडेमी पुगेर खेलाडी वार्मअपमा उत्रन्छन्। अनि सुरु हुन्छ - तरबार लिएर अभ्यास। साढे ७ बजे एकेडेमी पुग्दा वार्मअप चलिरहेको हुन्छ।

एकेडेमीको साँघुरो हलमा २० जना बढी खेलाडी अटाई नअटाई बसेको देखिन्छ। दुई जना खेलाडीले तरवार घुमाउँदा जोगिन कुनातिर बस्नुपर्ने। फराकिलो ठाउँ चाहिने खेलमा खेलाडीहरु कुचुक्क परेको हलमै पालैपालो दुई-दुई जना अभ्यासरत् भेटिए।

अधिकांश विभागीय खेलाडी र केही बाहिरका खेलाडी। एसियन गेम्सका लागि नेपाली फेन्सरहरु यही हलमा तयारी गर्न व्यस्त देखिन्थे।

त्यसपछिको छनोट भने सातदोबाटोस्थित तेक्वान्दोको बिल्डिङमा भयो। बन्द प्रशिक्षणमा अब खेलाडी संख्या घटेका त छन् तर समस्या भने उही छ। खेलस्थलको।

'फेन्सिङ हलको अभावका कारण यहाँ ट्रेनिङ गरिरहेका छौं। यतिजना खेलाडीलाई ट्रेनिङ गर्न यो पर्याप्त छैन,' फेन्सिङ टोलीका प्रशिक्षक अभिषेक कार्की भन्छन्,'सेटअप पनि कति ठाउँमा मिल्दैन। तर हामीसँग भएको सामाग्री र सेटअप भएका कारण खेलिरहेका छौं। छनोटपछि दोस्रो चरणको ट्रेनिङ हुनेछ।'

एसिया कपको तयारीमा रहेका नेपाली खेलाडीमध्ये केही यतिबेला इजिप्टको कायरो पुगेका छन्, विश्व च्याम्पियनसीप खेल्न।

+++

नेपालमा फेन्सिङको इतिहास लामो छैन। सन् २००९ मा फेन्सिङ संघ स्थापनाको कथालाई सम्झन्छन् प्रशिक्षकसमेत रहेका संघका सचिव कार्की।

सन् १९९४ मा भारतको कलकत्तामा अध्ययनको क्रममा कार्कीले फेन्सिङ खेलेको रहेछन्। त्यहाँका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका उनी भारतमा अध्ययन सकेर फर्किएपछि भारतीय फेन्सिङ संघको सहयोगमा हालका महासचिव सुजनलाल श्रेष्ठ र अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायत मिलेर नेपाल फेन्सिङ संघको स्थापना गरे।

 

'त्यसपछि २०१० मा साउथ एसियन फेन्सिङ च्याम्पियनसिप खेल्न चेन्नइ गएका थियौं। त्यहाँ पहिलो इन्टरनेसनल मेडल जितेका थियौं,' कार्कीले सुनाए।

त्यसयता एसियन सिनियर जुनिएर, विश्व च्याम्पियनसिप लगायतका प्रतियोगितामा नेपालले सहभागिता जनाइसकेको छ। नेपालले पहिलो पटक एसियन गेम्समा सन् २०१४ मा सहभागिता जनायो।

'अहिलेसम्मको ठूलो उपलब्धि भनेको २०१९ को सागमा फेन्सिङमा पाएको उपलब्धि हो। सागमा ४ वटा सिल्भर र ६ वटा ब्रोन्ज जित्न सफल भयौं,' कार्की सम्झन्छन्।

१३ औं सागपछि कोभिड-१९ महामारी फैलियो र फेन्सिङलगायत सबैजसो खेल प्रभावित भयो। त्यसपछि सन् २०२२ बाट वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिता भयो। त्यहीँबाट १० जना पुरुष र १० जना महिला खेलाडी क्याम्पमा परे।

'९ औं राष्ट्रिय खेलकुदमा र्‍याङ्किङ लिएर आउने खेलाडी पनि छनोटमा पर्नेछन्। त्यसपछि अन्तिम चरण सुरु हुनेछ,' एसियन गेम्सको छनोट प्रकृयाबारे कार्कीले भने,' एसियनका लागि तयारी राम्रो भइरहेको छ। खेलाडी निरन्तर ट्रेनिङमा छन्। तर, हामीलाई खेल सामाग्रीदेखि फेन्सिङ हलसम्मको अभाव छ। यसलाई राखेपमा भनेका छौं। तर पर्याप्त उपलब्ध छैन।'

+++

अभ्यासमा जुटिरहँदा एकजना खेलाडीको तरबार भाँचियो। तुरुन्तै निराश देखिए उनी। फेन्सिङको अभ्यासको क्रममा यसरी ‘ब्लेड’ भाँचिनु सामान्य प्रक्रिया हो। तर, यो खेलाडीका लागि त्यति नै महँगो छ। सस्तो किसिमको (चाइनिज ब्लेड) लाई नै करिब ३ हजार रुपैयाँ पर्ने सुनाउँछन् श्रेष्ठ। यता प्रशिक्षक कार्कीका अनुसार अभ्यासमा १० वटा ब्लेडमात्र उपलब्ध गराउने आश्वासन दिएको छ राष्ट्रिय खेलकुद परिषदले।

'खेलाडीले आफ्नै खर्चमा तरवार किन्न बाध्यता छ, क्याम्पमै बसे पनि। सरकारको ध्यानकार्षण छैन। यसमा ब्लेडका लागिमात्र कम्तीमा माग राख्दा १० वटामा तरबारको ब्लेड उपलब्ध गराउने आश्वासन छ,' कार्की गुनासो गर्दै थिए, 'यो त ५ दिनको ट्रेनिङमा सकिन्छ। ४० दिनको ट्रेनिङमा कति सकिन्छ। अहिलेसम्मै २०/२२ वटा ब्लेड भाँचिइसकेको छ। बाँकी खेलाडीले प्रयोग गर्ने व्यक्तिगत पैसाबाट खेलाडीले किनेका छन्। २८ सय देखि ३ हजार पर्छ एउटा ब्लेड किन्न। यसले खेलाडीलाई धेरै भार परेको छ।'

उनको तर्क छ : यसमा बजेट बढाइदिएर हल उपलब्ध भए हौसला बढ्छ, मन लगाएर खेल्न सक्छ।

खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग गर्ने ब्लेडलाई भने ३० हजार माथि पर्ने बताउँछन्। यद्यपि, पोसाक एफआईई र ननएफआईई हुन्छ। ननएफआईई चीनबाट आउने सस्तो त हुन्छ तर यसको प्रयोग राष्ट्रिय स्तरको प्रतियोगिता र अभ्‍यास खेलमा मात्र हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने मापदण्ड भित्रकै सामाग्री लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीले सबै आधारभूत सामाग्री जुटाउँदा डेढ लाख माथि खर्च हुन जान्छ।

खेल सामाग्री जुटाउनै संघर्ष गरिरहेका नेपाली खेलाडीलाई मेडल ल्याउन अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ आवश्यक छ। त्यसमा पनि बजेटमै आएर कुरा अड्किन्छ। संघका महासचिव सुजनलाल श्रेष्ठ दक्षिण एसियामा राम्रै पोजिसनमा रहेपनि एसियाली स्तरमा धेरै पछि रहेको बताउँछन्।

'दक्षिण एसियामा भारतपछिको स्थानमा छौं। एसियामा वा विश्वमा चाहिँ धेरै पछि। पायस योञ्जन विश्ववरीयतामा परेको छन्। उसको राम्रो गर्नका लागि ट्रेनिङ क्याम्पमा राखेका छौं,' महासचिव श्रेष्ठले भने, 'स्रोतको कुरा गर्ने हो भने सपोर्ट धेरै छैन। खेल सामाग्री खेलाडीले आफ्नै खर्चमा गरिरहेका छन्। एफआईइले हाम्रो एक्टिभिटी हेरेर ५ हजार डलरको बराबरको सहयोग गरेको छ।'

नयाँ खेललाई मूलधारमा ल्याउन संघर्ष त छँदैछ, भएका खेलाडी पलायन हुँदा संघ अर्को दबाबमा छ। पछिल्लो समय फुटबल, भलिबलजस्ता चर्चामा आइरहने खेलका चर्चित खेलाडी धमाधम विदेश पलायन भएको चर्चा चलिरहँदा छायाँमा पर्ने अरु खेलहरुको अवस्था अझ भयावह छ। यसबाट फेन्सिङ पनि अछुतो छैन।

'भएको खेलाडी जोगाउन कठिन छ। भर्खरै तीन जना राम्रा खेलाडी विदेश जानुभयो,' महासचिव श्रेष्ठले भने, '४/५ वर्ष लाग्छ एउटा खेलाडी बनाउन। त्यसपछि उनीहरु बाहिर जाँदा कठिन हुन्छ।'

स्थापनाताका विभागमा निर्भर संघले हाल खेलाडी उत्पादनमा पनि पहल सुरु गरेको श्रेष्ठले बताए। उनले भने, ‘पहिला एपीएफ र आर्मीमा मात्र निर्भर थियौं भने अहिले जुनियर लेभलबाट पनि बच्चा आइरहेका छन्।’

'हाम्रो आफ्नै ट्रेनिङ हल छैन। नेपाल सरकारसँग धेरै अघिदेखि माग गरिरहेका छौं। च्याम्पियनसीप गराउन पनि ठाउँ नभएपछि कठिन छ। स्पोन्सर नहुँदा कठिन छ,' श्रेष्ठ भन्छन्, 'एसियाली स्तर खेलाडीका लागि एक्सपोजरमात्र हो। यसलाई युरोपियन मार्सलअर्ट भन्छ। धेरै खेल खेल्न पाए खेलाडीको वरीयता बढ्छ।'

एसियाली स्तर भनेको नेपाली खेलाडीका लागि एक्सपोजरको अवसरमात्र भएको श्रेष्ठ मान्छन्। एउटा एसिया कप सकिँदा बित्तिकै अर्को एसिया कपको तयारी सुरु गर्ने देशहरुको खेलकुदमा लगानीको उदाहरण दिँदै उनी कम तयारी गरेर मेडलको आशा गर्न नसकिने तर्क गर्छन्।

'६/७ महिना तयारी गरेर एसियन गेम्समा मेडल ल्याउँछु भन्नु दिवा स्वप्नामात्र हो। तर, वरीयतामा तान्न सकिन्छ,' उनले भने।

कसरी खेलिन्छ फेन्सिङ?

फेन्सिङ खेल नेपालमा खासै चर्चामा आउँदैन। धेरै जिल्लामा यो संघ विस्तार हुनै पनि बाँकी छ। यो खेलमा तीनवटा ‘इभेन्ट’ छन्। फोइल, एपे र सेभर। पोसाकदेखि तरबारसम्म तार र स्कोरबोर्ड ‘कनेक्टेड’ हुन्छ। यो तीब्र गतिमा खेलिने खेल हुँदा पहिलो पटकमै बुझ्न कठिन पनि हुन्छ।

प्रशिक्षक कार्कीका अनुसार एपेमा तरबारको तौल ७ सयदेखि ८ सय ग्राम हुन्छ। यसको प्वाइन्ट पाउन ७५० ग्रामको प्रेसर दिएमात्र बत्ती बल्छ। यसको होलबडी टार्गेट हुन्छ। यसमा दुबै जनाले प्वाइन्ट पाउन पनि सक्छ।

यो खेलका हरेक बिधामा मास्क (टाउको ढाकिने टोपी) छुट्टाछुट्टै हुन्छ। खेलभन्दा अघि खेलाडीले अपोनेन्टलाई स्यालुट गर्छन्। रेफ्रीलाई स्यालुट गर्छन्। अडियन्सलाई स्यालुट गर्छन्। मास्क लगाउँछन्।  ३ मिनेटको खेल हुन्छ तर अन्तिममा बराबरी भएको खण्डमा एक मिनेटको अर्को बाउट हुन्छ।

अर्को इभेन्ट सेभर हो। यसमा इलेक्टोनिक ज्याकेट हुन्छ। ज्याकेट र मास्क, हात टार्गेट एरिया हुन्।

'यसमा प्रेसर चाहिन्न। छोएमात्र पुग्यो। सबैभन्दा फास्ट इभेन्ट हो।' कार्कीले भने। यसमा तीन मिनेट समय दिएको हुन्छ तर त्यति समय लाग्दै लाग्दैन। यसमा राइट अफ वे अर्थात जसले पहिला अट्याक गर्‍यो उसलाई प्राथमिकता दिइन्छ। अट्याक मिस गर्‍यो भने अर्कोको प्राथमिकता सुरु हुने कार्की उल्लेख गरे।

त्यस्तै अर्को इभेन्ट फोइल हो। यसमा टार्गेट क्षेत्र थोरै हुँदा प्वाइन्ट लिन समय लाग्छ। '५०० ग्रामको प्रेसर चाहिन्छ। सिस्टम सेभरसँग धेरै मिल्छ,' कार्कीले भने।  



ट्रेन्डिङ पोस्ट

Ncell