
काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सोही गाउँपालिका ४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पिपरा गाउँपालिका-५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुर दासको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न जनाएको छ।
उनलाई १ थान फोरुवा (कोदालो) सहित पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।