काठमाडौं : आजदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ- ढुङ्गाको बाटो’ मञ्चन हुने भएको छ। किरात समुदायको सभ्यताको प्रतिक मानिने 'खुवालुङ'मा आधारित यो नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ।
राजन मुकारूङको लेखन रहेको नाटकमा किरण चाम्लिङ राईको निर्देशन रहेको छ। निर्देशक राईले यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ निर्देशन गरिसकेका छन्।
यो नाटक किराती संस्कृति र सभ्यतामाथि आधारित रहेको राईको भनाई छ। ‘यो नाटक किरात समुदायको खुवालुङसँग सम्बन्धित छ। खुवालुङ अर्थात ढुङगा। जुन ढुङगा किरातीको समुदायको साँस्कृतिक, सामाजिक, वातावरणीय इतिहाससँग जोडिन्छ। यस नाटकबाट किरातीहरू हिँडेको बाटो कुन हो? भन्ने थाहा हुन्छ। खुवालुङ साँस्कृतिक आन्दोलनको एक पाटो हो।’ उनले भने।
आफ्नो संस्कृतिबारे काम गर्न मन भएर यो नाटक निर्देशन गरेको उनले सुनाए। उनी भन्छन्, ‘मलाई पहिलेदेखि नै आफ्नो संस्कृतिमाथि काम गर्न मन पर्छ। यसअघि नाटक ‘जोखाना’ काम गरेको थिएँ। राजन दाईले खुवालुङसम्बन्धि विभिन्न मिथ जोडेर नाटक लेख्नु भएछ। किरात संस्कृतिलाई अझ नजिकबाट बुझ्न यो नाटक निर्देशन गरेको हुँ। जसबाट मैले किराती सभ्यता र संस्कृतिको बारेमा नयाँ कुरा बुझ्ने मौका पाएँ। वर्तमान समयमा खुवालुङबारे बुझ्न निकै जरूरी छ।’
थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटकमा पशुपति राई, इंगीहोपो कोइँच सुनुवार, मानङ लावती, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री, प्रशंसा गुरुङसहित ३० जना कलाकारहरूको अभिनय रहनेछ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणी नै खुवालुङ हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सप्तकोसी नदीमा 'जेटबोट' चलाउन बाधा गर्ने ‘एउटा ढुंगो’लाई क्रेन लगाएर फुटाउने योजना ल्याएको थियो। किरात समुदायको आस्थासँग जोडिएको 'खुवालुङ' फुटाउने भनिएपछि त्यसको विरोध भएको थियो। त्यसैले यो नाटकलाई सांस्कृतिक आन्दोलनका रुपमा समेत व्याख्या गरिएको छ।