
काठमाडौं : साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली फुटबल टोली आज भारत जाँदैछ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाइ गरिएको छ।
भारतको भुवनेश्वरमा हुने साफ यु-२० टोलीलाई एन्फाले बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित एन्फा पदाधिकारी बिदाइ गरे।
एक साता हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने तालिका छ। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्। च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन्।
प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्। यस्तै, विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाइएको जानकारी गराए। मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन्। रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन्। देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु-२० टोलीको निर्माण गरेको हो।
कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। मुख्य लक्ष्य साफ यु-२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ।
खेलाडी छनोटदेखि प्रारम्भिक टोली निर्माणका लागि मेहेनत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताएका छन्। प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए।
कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु-२० समूहलाई सहयोगी टोली खुला प्रतिष्पर्धाबाट लिएको थियो। छनोट हुँदा केही शहीद स्मारक ए डिभिजन लिग खेलेका अनुभवि खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरुको संयोजन भएको छ।
बनेको टोलीलाई साफ यु-२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनुपर्ने बाध्यता अहिलेको अवस्था रहेको छ। नेपाली टोलीका सदस्य तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट भएको बताएका छन्।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका रहेको छ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन्।