
श्रीलंकाको प्रधानमन्त्रीमा वामपन्थी नेता दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। वामपन्थी दल महाजना पेरामुना (पिपल्स युनाइटेड फ्रन्ट)का नेता गुणवर्द्धनालाई राष्ट्रपति रनिल विक्रमासिंघेले नियुक्त गरेका हुन्।
गुणवर्द्धना पार्टीका संस्थापक तथा वामपन्थी राजनीतिज्ञ डन फिलिप रुपासिंघे गुणवर्द्धनाका छोरा हुन्। डन फिलिपले सिनोनको पहिलो राजनीतिक दल लंका समा समाज पार्टी स्थापना गरेका थिए।
उनी मार्क्सवादको एउटा हाँगो ट्रोटस्कीवादलाई अंगीकार गरेका थिए। डन फिलिपलाई श्रीलंकामा 'समाजवादका पीता' भनिन्छ। त्यस्तै उनलाई 'बोरालुगोडका सिंह' भनेर पनि चिनिन्छ। उनी स्टेट काउन्सिल अफ सिलोनका सदस्य पनि थिए।
उनी सन् १९२७ मा अमेरिकामा अध्ययन गर्ने क्रममा 'औपनिवेश वाद विरुद्धको लिग'को सदस्यता लिएका थिए। युरोप र अमेरिकामा विभिन्न देशमा उनले वामपन्थी आन्दोलनमा सहभागी भएका थिए।
बुबा डन फिलिपको कम्युनिस्ट लिगेसी अगाडि बढाएका दिनेश सन् १९८३ यताका ८ वटा निर्वाचनमा सांसदमा निर्वाचित भएका छन्। २०२० को संसदीय निर्वाचनमा महिन्दा राजापाक्षे नेतृत्वको महागठबन्धनबाट उनले जित हात पारेका थिए।
गुणवर्द्धनाको राजनीतिक विरासत
गुणवर्द्धना श्रीलंकाको राजीनिक परिवार हो। कम्युनिस्ट लिगेसी बोकेको परिवारका धेरै सदस्यहरु श्रीलंकाको सरकार र संसदमा पुगिसकेका छन्।
श्रीलंकाको पहिलो पार्टीका संस्थापक डन पिलिप श्रीलंकाको मन्त्री बनिसकेका छन्। त्यस्तै उनका भाइ रोवर्ट गुरुवर्द्धना पनि सांसद तथा कम्युनिस्ट नेता हुन्। उनी चीनका लागि श्रीलंकाका राजदूत भइसकेका छन्।
त्यस्तै, डन फिलिपकी बहिनी क्यारोलिन एन्थोनिपिल्लाइ पनि राजनीतिज्ञ हुन्। उनी भारतीय राजनीतिज्ञ एससीसी एन्थोनिपिल्लाईकी पत्नी हुन्।
त्यस्तै, डन फिलिपकी पत्नी तथा हालका प्रधानमन्त्री दिनेशकी आमा कुसुमासिरी पनि श्रीलंकाको राजनीतिमा रहेकी छन्। श्रीलंका स्वतन्त्रता पूर्व नै सिलोनको सांसदमा र स्वतन्त्रता पछि पनि सदसयमा निर्वाचित भएकी थिइन्।
त्यस्तै, फिलपकी भतिजी भिभियानी गुनेवर्द्धने पनि राजनीतिमा छन्। उनी विश्वकै पहिलो महिला मन्त्रीको रुपमा लिइन्छ। उनी श्रीलंका स्वतन्त्रा संग्रामका साथसाथै भारत स्वतन्त्रता संग्राममासमेत सहभागि भएकी थिइन्।
उनका पति लेस्लेइ गुणवर्द्धना पनि श्रीलंकन राजनीतिज्ञ हुन्। उनलाई स्वतन्त्रा संग्राममा योगदान पुर्याएवापत नेशनल हिरो अफ श्रीलंकाको उपाधि दिइएको छ। उनी श्रीलंकाको पहिलो पार्टीको महासचिव भइसकेका हुन्। त्यस्तै, यातायातमन्त्री, सञ्चारमन्त्रीसमेत भइसकेका व्यक्ति हुन्।
त्यस्तै, श्रीलंकाको राजनीतिमा प्रधानमन्त्री दिनेशका दाजुभाइहरुको उपस्थिति रहेको छ। इन्दिका, प्रसानन, गितान्जना पनि श्रीलंकाको सांसद र मन्त्रीसमेत भइसकेका छन्।
त्यस्तै, प्रधानमन्त्री दिनेशका छोरा यदामिनी गुणवर्द्धना पनि श्रीलंकाको सांसद छन्। उनी २०२० को संसदीय निर्वाचन पछि त्यहाँको समानुपातिक सांसदमा मनोनित भएका थिए।
एउटा वंशबाट अर्को वंशमा सरेको विरासत
सन् २००५ यता श्रीलंकाको राजनीति राजापाक्ष परिवारकै वरिपरी घुम्यो। महिन्दा राजापाक्ष घरी प्रधानमन्त्री घरी राष्ट्रपति बने। लगातार राष्ट्रपति हुन नपाउने भएपछि प्रधानमन्त्री रोजेका उनले भाइ गोटावायलाई राष्ट्रपति बनाए।
तर, सन् २०२० को निर्वाचन पछि सत्तामा दोहोरिएको राजापाक्षे परिवारको विरासत ढलेको छ। राष्ट्रपति पदमा २०२० को निर्वाचनमा पराजित भई पछि मनोनित भएका सांसद रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। उनी महिन्दालाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री र गोटावायलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री बने।
त्यस्तै, त्यहाँको प्रधानमन्त्रीमा राष्ट्रपतिमा सपथ लिएका रनिलको स्थानमा दिनेश नियुक्त भएका छन्। राजापाक्षे परिवारको सत्ता गठबन्धनबाटै उनीहरु दुवै राष्ट्रपति र प्रधानमन्त्री पदमा निर्वाचित भए। तर, पनि श्रीलंकाको राजनीतिमा पारिवारिक विरासतले भने निरन्तरता पाएका छन्।
गुणवर्द्धना परिवारबाट दिनेश पहिलो प्रधानमन्त्री बनेका छन्। अझ वामपन्थी विचार बोक्ने दिनेश, वामपन्थी दल तामिल टाइगर्स विद्रोहीलाई नामेट पार्ने राजापाक्षेकै नेतृतवमा रहेको गठबन्धनबाट प्रधानमन्त्री बनेका छन्।