काठमाडौं : नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताए।
उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगिकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए।
संशोधन प्रस्ताव राख्दै उनले भने, ‘नेपाल र बेलायतबिच भएको सन्धि अनुसार गोर्खा सेनाहरुको हकमा माथि उल्लेखित दफाहरु लागू हुने छैनन्। उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ।
उनले विसं २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका हरुलाई पनि हाल उनीहरुका दाजु, दिदीहरुले जसरी नै नागरिकता दिइनुपर्ने बताए।