काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का राख्ने विद्धमान नीतिगत व्यवस्था खारेज गरेको छ।
उक्त व्यवस्था खारेज गर्दै केन्द्रीय बैंकले उक्त प्रावधानको अख्तियारी धितोपत्र बोर्डमा प्रत्यारोपण गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै धितोपत्र कारोबार रोक्का राख्ने अधिकार धितोपत्र बोर्डलाई सुम्पिएका हुन्।
नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्था एक आपसमा गाभ्दा कारोबार रोक्का राख्नु पर्ने व्यवस्था खारेज समेत गरेको हो।
हाल बैंक तथा वित्तीय संस्थाको एकल नियामक केन्द्रीय बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३’मा भने गाभ्ने गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र संलग्न गर्नुपर्ने प्रावधान छ।
गाभ्न गाभिनका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिँदा साधारण सभा तथा सञ्चालक समितिको निर्णय, प्रारम्भिक समझदारी-पत्रको प्रतिलिपि र नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र संलग्न गर्नुपर्ने विनियमावलीमा उल्लेख छ।
उल्लेखित व्यवस्था खारेज गर्दै केन्द्रीय बैंकले धितोपत्र बोर्डले तय गरेको व्यवस्था बमोजिम मर्जरमा जाने संस्थाको कारोबार रोक्का हुने अथवा नहुने बताएको छ।