PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

‘लाहुरे’ बन्ने सपनाले डोर्‍याएको थियो, बन्न पुगे तरबार चलाउने खेलाडी : यस्तो छ पायसको फेन्सिङ स्टोरी

‘लाहुरे’ बन्ने सपनाले डोर्‍याएको थियो, बन्न पुगे तरबार चलाउने खेलाडी : यस्तो छ पायसको फेन्सिङ स्टोरी

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : पायस योञ्जन १० वर्ष अघि दोलखाबाट काठमाडौं ओर्लिँदा दुईवटा लक्ष्य लिएर आएका थिए। पहिलो, राजधानीबाट प्लस टू पूरा गर्ने, अनि, लाहुरे बन्ने। लक्ष्य पूरा गर्न उनी जुटे पनि। तर, सोचेको सबै किन पूरा हुन्थ्यो?

प्लस टू चाहिँ पूरा गरे। अनि लाहुरे बन्न अथक मेहेनत पनि। तर, उनी छनोट हुन सकेनन्। त्यसैले बिलखबन्दमा पुर्‍यायो - काठमाडौंमा बसेर के गर्ने? 

उनको अन्योलता चिर्न सहयोग गरे ओमकार सिंहले।

'आउ न त खेलौं। राम्रो हुन्छ भन्नु भयो। त्यसपछि म गएँ,' योञ्जनले फेन्सिङमा प्रवेश गर्दाको सन्दर्भ सुनाए।

फेन्सिङमा लागेका पायसको अन्तत: 'प्यासन' बन्यो नौलो खेल। र, फेन्सिङको विश्व वरीयताको ४२७ औं नम्बरमा पनि परे। हाल नेपाल फेन्सिङ संघले उनलाई ओलम्पिक स्कलरसीपका लागि प्रस्ताव गरेको छ।

योञ्जनको पहिलो प्रतियोगिता

२०७३ साल तिरको कुरा हो। राष्ट्रिय खेलकुद परिषदमा च्याम्पियनसीप संचालन भइरहेको थियो। पायस प्रतियोगितामा हातमा तरबार लिएर ‘पिस्ट’मा ओर्लिए। त्यो नै उनको पहिलो सहभागिता थियो कुनै प्रतियोगितामा। त्यतिबेला उपलब्धि हात पार्न सकेनन्। तर, पनि हार मानेनन्।

'त्यसपछि सातौ राष्ट्रिय खेलकुद भयो। टिममा ब्रोन्ज मेडल आयो,' उनले सुनाए।

त्यतिबेला उनी नयाँ थिए। टिमका अरु साथी बलिया। तर, त्यतिखेरको पदकलाई उनी ठूलो उपलब्धि मान्दैनन्।

'आठौं राष्ट्रिय खेलकुदमा चाहिँ सिल्भर मेडल ल्याउन सफल भएँ। भर्खरै सम्पन्न गणेशमानमा चाहिँ सिल्भर मेडल मिल्यो। १३ औं सागको बेलामा ब्रोन्ज मेडल आएको थियो टिममा,' उनले सुनाए।

फेन्सिङ ‘टेक्निकल’ खेलमात्र होइन। यसमा फिट हुन ‘फिजिकल फिटनेस’ पनि उतिकै आवश्यक पर्छ।    

'यो टेक्निकल खेल हो, फिजिकल पनि। टेक्निक प्रयोग धेरै हुन्छ। ३/४ वटा एक्सन चाहीँ सोचिरहनु पर्छ,' उनले सुनाए।

हेर्दा यो खेल जति रमाइलो देखिन्छ, त्यति नै कठिन पनि छ। त्यसैले त सम्भावना बोकेका खेलाडीहरु विदेश भासिने क्रम रोकिएको छैन। फेन्सिङ मात्र होइन, पलायन हुनेहरु सबै खेलबाटै हराइरहेका छन्। त्यसमाथि फेन्सिङ महँगो खेल पर्‍यो। पोसाकदेखि खेल्न प्रयोग हुने हतियारको दाम उच्च छ। नेपालमा ती सामाग्री किन्न खेलाडीले नै लगानी गर्नुपर्छ। यस्तो अवस्थामा पायस ‘सेल्फ मोटिभेट’ भएर टिकेका छन्।

 

'यो खेल महँगो छ। त्यसमाथि मेहनत पनि त्यत्तिकै आवश्यक पर्छ। मलाई फेन्सिङ सिकाउने साथी एक्लै भए पनि, कोही नआए पनि दिनहुँ ट्रेनिङमा आउने जाने गर्थ्यो। मैले मेहनत गर्न उसैसँग सिकेको हुँ,' उनले भने, 'अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि धेरै खेलाडीसँग खेलियो। उनीहरुको खेल हेरियो। उनीहरुको ट्याक्टिसहरु हेरेँ। संघर्षका कुरा पनि हेरेँ। यसबाट आफै उत्प्रेरित भएँ।'

फेन्सिङमा ‘प्यासन’ तर ‘विकल्प’ के?

उनको बुझाइमा दक्षिण एसिया फेन्सिङमा पछाडि छ। भारत र बंगलादेश बाहेकका अरु देश त धेरै पछाडि। नेपालको हालत उस्तै। उनी कुनै विभागीय टोलीमा छैनन्। खेलकुदबाट जीवन धान्ने पैसा नेपालमा कमाउन सकिन्न। त्यसैले उनले बाहिर काम पनि गर्छन्। बिहान कलेज, दिउँसो अफिस अनि साँझ अभ्यास।

'सोचेभन्दा गाह्रो छ। मैले खेल सुरु गर्दा बिहान कलेज हुन्थ्यो। दिउँसो जब हुन्थ्यो। बाँच्नलाई खान परिगो। कोठा भाडा तिर्नुपर्‍यो। त्यसपछि म प्रशिक्षण जान्थेँ। अहिले पनि अवस्था धेरै फरक छैन,' उनले मनको बह पोख्दै भने, 'म एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्छु।’

तर जहाँ उनी काम गर्छन्, फेन्सिङमा टिक्न राम्रो ‘मोटिभेसन’ मिलरहेको छ। त्यसैले खेलमा टिक्न र प्रतियोगितामा जान समस्या छैन उनलाई। 'मलाई अफिसबाट मोटिभेट गर्नुहुन्छ। जान्छु भन्दा पठाउनुहुन्छ,' उनले भने।

उनी हाल ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) गर्दैछन्। धान्नुपर्ने दैनिक खर्च र पारिवारिक जिम्मेवारी बिच फेन्सिङलाई निरन्तरता दिनुको कारण उनको ‘प्यासन’ नै हो यतिखेर।

'हामी त कोठामा बस्नु पर्छ, भाडा तिर्नुपर्छ, खाना खानुपर्छ। त्यो गर्दा फुलटाइम 'जब' हुन्छ। पार्ट टाइम खेल हुन आउँछ। प्यासनले गर्दा खेल खेलिरहेको छु। काम बढी छ। अहिले खेलको समय थोरै छ,' उनले भने।

हुन पनि फेन्सिङको खर्च धान्न जोकोहीलाई हम्मेहम्मे पर्छ। अझ बाहिर जिल्लाबाट आएर काठमाडौंमा कोठामा बसेर चल्न त कति कठिन होला? बढ्दो महँगीमा महँगो कपडा, खेल समाग्री र अभ्यास आउजाउ।

'बाहिर जान, प्रतियोगितामा सहभागिता जनाउन आफ्नै पैसा खर्च हुन्छ। वर्षैपिच्छे जान गाह्रो छ,' उनले सुनाए, 'मेरो सेभर इभन्ट हो यसमा ब्लेड भाँचिने सम्भावना कम हुन्छ। त्यसैले खर्च पनि थोरै हुन्छ। यसबाहेक एपे र फ्युल भन्ने इभेन्ट छ त्यसमा प्रेस गर्नुपर्छ जसले धेरै बिग्रिन्छ। उनीहरुको खर्च धेरै हुन्छ।'

उनको विधामा तरबारमा खर्च कम हुने भए पनि इलेक्ट्रिक ज्याकेटमा खर्च धेरै हुने उनी बताउँछन्।

'हाम्रो इलेक्ट्रिक ज्याकेटमा उहाँहरुको तरबारमा जति खर्च जान्छ त्यसैको अनुपातमा खर्च जान्छ। एउटा ज्याकेटले २/३ महिना टिक्छ। पसिनाले नै बिग्रिन्छ,' उनले सुनाए, 'त्यसको खर्च १० हजार माथि। अहिले बढेर आएको छ। त्यस्तै, मास्कमा औसतमा ५/६ हजार जान्छ।'

खेल सामाग्री पनि दुई किसिमका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग गर्न मिल्ने र नमिल्ने।

'सेट किन्न नन एफआईवाला २५ देखि ३० हजार पर्छ। तर एफआईईवाला किन्न डेढदेखि २ लाख पर्छ। नेशनलमा नन एफआईई प्रयोग गर्न पाइन्छ किनभने खेलाडीले अफोर्ड गर्न सक्दैनन्। विदेश जाँदा चाहिँ एफआई अनिवार्य हो,' उनले सुनाए।

अबको लक्ष्य : पदक

नेपालको लक्ष्य अहिले दक्षिण एसियाली स्तरमै सीमित छ। एक खेल प्रतियोगिता सकिने वित्तिकै प्रशिक्षण सुरु गरिहाल्ने देशसँग जुध्ने योजना देख्नु दिवा सपना!

'हाम्रो लागि ओलम्पिक भनेको साउथ एसियन लेभल हो। हाम्रो लेभलका हिसाबले साउथ एसियामा केही गर्न सकेमात्र त्यो भन्दा माथि सोच्न सकिन्छ। ट्रेनिङ, हाम्रो स्किल, हामीलाई दिएको सुविधा हेरेर,' उनले भने, 'दक्षिण एसियाली खेलकुदमा मेडल टच गरेको ठूलो उपलब्धि मान्छु।'

उनले विदेशमा छँदा र यहाँको खेलस्तर हेरेका छन्, व्यवस्थापन हेरेका छन्। लगानीका हिसाबले उनी आकाश पातालको फरक देख्छन्।

'हाम्रो नेपालमा खेलाडीको स्तर एकैजस्तो छ। सरकारले दिने सुविधादेखि मोटिभेसनको कुरामा कमी छ,' उनले भने, ' भारत लगायतको देशमा खेलाडीका लागि छुट्टै व्यवस्था छ। कसरी खेलको स्तर बढाउने भन्नेमा चासो धेरै छ उहाँहरुको।'

उनलाई लाग्छ दुई - तीन महिनामा एउटा प्रतियोगिता भइदिने हो भने खेलाडीलाई धेरै राहत मिल्ने थियो। अझ मासिक सुविधा मिल्ने हो भने त सुनमा सुगन्ध।

'सरकारी जागिर खानुपर्छ, केही गर्नपर्छ, यो खेलेरमात्र केही हुँदैन, भन्ने त सबैले हो। सुरुवातमा घरमै पनि धेरै उठे त्यस्ता कुराहरु,' संघर्षका दिनहरुलाई सम्झन्छन्, 'खेलेर के गर्छस? उँभो लाग्दैनस्। आफ्नो ठाउँमा राम्रो काम गर कि विदेश जा भन्थे। तर मैले उपलब्धि पनि हात पार्दै गएपछि आजकल खासै त्यस्तो हुँदैन।'



ट्रेन्डिङ पोस्ट

Ncell