PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

किन 'फ्लप' हुँदैछन् ठूला बजेटका बलिउड फिल्महरू?



पहिलोपोस्ट

किन 'फ्लप' हुँदैछन् ठूला बजेटका बलिउड फिल्महरू?
Photo : Vector Stock

एक वर्षमा सबैभन्दा फिल्म निर्माण गर्ने फिल्म उद्योग हो बलिउड। तर, कोरोना भाइरस महामारीसँगै विगत दुई वर्षदेखि बलिउड कठिन अवस्थाबाट गुज्रिरहेको छ। महामारीले बलिउड फिल्म उद्योग कमजोर भएको छ। पहिले जस्तो सिनेमा हलमा खचाखच भिड विरलै देख्न पाइन्छ। जसकारण फिल्म उद्योगले करोडौं रुपैयाँ राजस्व गुमाउनु परेको छ।  

यसकासाथै फिल्म हेर्ने दर्शकहरु आफ्नो पैसा कहाँ खर्च गर्दैछन् भन्ने बारे सचेत हुन थालेका छन्।

बक्स अफिसको तथ्याङ्कअनुसार यो वर्षको ६ महिनामा रिलिज भएका २० बहुप्रतिक्षित हिन्दी फिल्महरूमध्ये १५ वटा फिल्महरु बक्स अफिसमा नराम्ररी पछारिए। जसमा बलिउडका ठूला सुपरस्टारका फिल्म समेत पर्छन्। जस्तै : रणवीर सिंहको ‘८३’ र ‘जयेशभाई जोरदार’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ र कंगना रनौतको ‘धाकड’।

फिल्मको व्यापारमा बारेमा चासो राख्ने जोगिन्दर टुटेजा भन्छन्, ‘यी फिल्मले करिब सात सयदेखि नौ सय करोड घाटा ब्यहोर्नुपरेको छ। फिल्मको स्याटलाइट र डिजिटल राइट बिक्री नभएको भए लगानि उठाउन पनि गाह्रो हुन्थ्यो।’

अघि थप्दै भन्छन्, ‘यस्तै अवस्था रहेमा यो वर्ष सिनेमा हलको कुल आम्दानी ४५० मिलियन डलरभन्दा बढी हुनेछैन। २०१९ मा बक्स/अफिसमा करिब ५५० मिलियन डलर कमाउने हिन्दी फिल्मको तुलनामा यो १० करोड डलर कम हो।’

बक्स अफिसमा किन कमजोर हुँदैछन् बलिउड फिल्म ?

कोरोना महामारीसँगै बक्सअफिसमा हिन्दी फिल्मको व्यापार कमजोर छ। फिल्मको प्रदर्शन कमजोर हुनुको एउटा कारण हो : कन्टेन्ट कमजोर हुनु।

एमके ग्लोबल फाइनान्सियल सर्भिसको रिपोर्टका अनुसार, ‘कुनै समय थियो जब कमजोर सामग्री भए पनि ठूला स्टारहरूले आफ्ना फ्यान फलोइङका कारण दर्शकलाई हलमा तान्थे। र, फिल्महरूले पनि राम्रो कमाइ गर्थे। तर समयसँगै दर्शकहरू प्राथमिकता परिवर्तन आएको छ। उनीहरू फिल्मको कन्टेन्टमा बढी ध्यान दिइरहेका छन्।’

तर, कोभिड-१९अघि बक्स अफिसमा चल्ने राम्रो बजेट र गम्भिर विषयका फिल्मले पनि कोरोनापछि किन राम्रो व्यापार गर्न सकेका छैनन् भन्ने कुरा चलचित्रकर्मीले बुझ्न सकेका छैनन् ।

भारतकै सबैभन्दा ठूलो फिल्म स्टुडियो मध्येको एक टी-सिरिजका संस्थापक भूषण कुमार भन्छन्, ‘दर्शकले अब फिल्ममा राम्रो सामग्री र ठूला कलाकार दुवै हेर्न चाहन्छन्।’

निर्मातामा दुविधाको स्थिति

भूषण कुमारको निर्माण रहेको हरर कमेडी फिल्म ‘भूल भुलैया २’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचिमा पर्छ। तर पनि फिल्मकर्मी अन्योलमा रहेको उनी स्विकार्छन्। बक्स अफिसमा फिल्म लगातार आइरहेका कारण कुन कुन फिल्मलाई दर्शकले मन पराउलान् भन्ने बुझ्न नसकेको उनी सुनाउँछन्।

भूषण कुमार जस्ता धेरै निर्माता दर्शकको बदलिँदो रुचिका कारण संघर्ष गरिरहेका छन्। स्ट्रिमिङ प्लेटफर्मको पहुँच र सिनेमाघरबाट मानिसहरूको बढ्दो दूरीबिच बक्सअफिसमा फिल्मलाई सफल बनाउन पहिले भन्दा निकै  गाह्रो छ। त्यसमाथि कोरोनाले झन अवस्था कठिन बनाएको छ।

रिलिज मिति सर्नु, स्थगित हुनु र कोभिड प्रोटोकलका कारण फिल्मको औसत बजेट १० देखि १५ प्रतिशतले बढेको कुमार बताउँछन्। त्यसमाथि टिकटहरू महँगो भएका छन्, थिएटरको क्षमता घटेको छ र महामारीको समयमा धेरै स्क्रिनहरू सधैँका लागि बन्द भएका छन्।

एमके ग्लोबलका अनुसार नातावाददेखि धार्मिक भावनामा चोट पुर्‍याउने आरोप र बलिउड विरोधी सामाजिक सञ्जाल अभियानले पनि फिल्म उद्योगलाई पनि ठूलो नोक्सान पुर्‍याएको छ। यद्यपि यो क्षति कति छ भन्ने अनुमान गर्न गाह्रो छ।

बक्स अफिसमा दक्षिण भारतीय फिल्मको कब्जा

परम्परागत रूपमा बनेका दक्षिण भारतीय फिल्मले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गर्छन्। तर, पछिल्लो समय दक्षिण भारतीय फिल्मका हिन्दी डब संस्करणको लोकप्रियता निकै बढेको छ।

हालै ‘आरआरआर’, ‘केजीएफ च्याप्टर–२’ र ‘पुष्पा’ जस्ता साउथका एक्सन फिल्महरूले राम्रो प्रदर्शन गरे। बक्स अफिस कलेक्सनको हिसाबले पनि बलिउड फिल्महरूको बराबरीमा उभिएका छन्।

विज्ञहरूले मुम्बई स्टुडियोमा बनाइएका हिन्दी फिल्महरूमा साउथका ब्लकबस्टर फिल्महरू जस्तै भव्य सेट, आकर्षक गीतहरू र स्लो मोशन सिक्वेन्सको अभाव भएको महसुस गर्छन्। दक्षिण भारतीय फिल्मको बढ्दो लोकप्रियताबारे चलचित्र समीक्षक सुचरिता त्यागी भन्छिन्, ‘यदि म सिनेमाहल जान्छु भने मलाई फरक किसिमको अनुभव चाहिन्छ। जस्तो कि म एक रोमाञ्चक यात्रामा छु।’

महामारीका कारण मानिसहरूको स्ट्रिमिङ प्लेटफर्महरूमा धेरै गैर-हिन्दी, दक्षिण भारतीय चलचित्रहरू खोजे। किनकी घरमा बसिरहँदा केही समयपछि हिन्दी फिल्महरू देखेर 'बोर' हुन्छन्।तर, विश्लेषकहरूले यो प्रवृत्तिलाई भरपर्दो भन्दैनन्। एम के ग्लोबल रिपोर्टअनुसार क्षेत्रीय फिल्महरू (दक्षिणी र गैर-दक्षिणी) को प्रभाव सामान्यतया परम्परागत बजार बाहिर कम हुन्छ।

तर,यस वर्षको बाँकी ६ महिनामा कुनै पनि प्रमुख क्षेत्रीय चलचित्र रिलिज हुने छैनन्। जसले बक्सअफिसमा छलाङ मार्नका लागि हिन्दी फिल्महरूलाई ठूलो मौका छ।

अब के हुन्छ?

शुक्रवारबाट रणवीर कपुरको एक्सन फिल्म ‘शमशेरा’ रिलिज भइसकेको छ। र, आमिर खानको ‘लाल सिंह चड्डा’ पनि अबको बहुप्रतिक्षित फिल्मको सुचिमा पर्छ। जसकारण यी फिल्मले पहिलेको नोक्सान पुर्ति गर्ने अनुमान गरिएको छ। अब बलिउडका रिलिज हुने फिल्महरू बढी छन् जसकारण बक्सअफिस कलेक्सनको माहोल कोरोनाअघिकै जस्तो हुने आशा गरिएको छ। तर, शमशेराले सुरुवातको दिनमा राम्रो व्यापार गर्न सकेन। यसबाट पनि दर्शक 'कन्टेन्ट' खोजिरहेको बुझ्न सकिन्छ।

ठूला पर्दामा फिल्म हेर्ने दिन सकियो भनेर कसैले लेख्न चाहँदैनन्, तर विश्लेषकहरू मान्छन् कि मानिसहरूमाझ स्ट्रिमिङ प्लेटफर्मको बढ्दो लोकप्रियता र दर्शकको बदलिदो प्रकृतिले सिधैँ व्यवसायमा असर पारेको छ।

‘यहाँ धेरै दर्शकहरूले चलचित्र हेर्न सिनेमा हलमा जानुको सट्टा ओटीटी प्लेटफर्ममा रिलिज हुने दिन पर्खन्छन्। विशेषगरि जब चलचित्रहरू औसत हुन्छन्,’ एमके ग्लोबल रिपोर्टमा उल्लेख छ। साथै सिधै ओटीटी प्लेटफर्ममा फिल्म रिलिज हुने संख्या पनि बढ्ने अनुमान गरिएको छ।रिपोर्टअनुसार भारतमा ओटीटी प्लेटफर्मले ओरिजिनल कन्टेन्टका लागि ५ सय मिलियन डलरको लगानि गरेको छ। जुन ग्राहकको तुलनमा धेरै बढी हो। तर यो परिवर्तनको ढाँचा उस्तै रहनेछ। किनकी सब्सक्राइबरको संख्या कन्टेन्टभन्दा धेरै शुल्कमा निर्भर हुन्छ।

त्यागी भन्छन्, ‘जब तपाईंले प्रति चलचित्र १६००-२४०० रुपैयाँ खर्च गर्नुहुन्छ, तब अपेक्षा पनि बढी हुन्छ। किनकी यति पैसा खर्च गरेर तपाईं वर्षभरिको लागि स्ट्रिमिङ सब्सक्रिप्शन लिन सक्नुहुन्छ। त्यसोभए मानिसहरूले यसलाई किन नरोज्नु? जुन म धेरै भन्दा धेरै देखिरहेको छु।’

बीबीसी हिन्दीबाट भावनुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell