PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सुनको मूल्य पाँच महिनायताकै सस्तोः तर पनि बढेन कारोबार, व्यवसायीले आफैं राख्न थाले स्टक



सरला सुवेदी

सुनको मूल्य पाँच महिनायताकै सस्तोः तर पनि बढेन कारोबार, व्यवसायीले आफैं राख्न थाले स्टक

काठमाडौंः गत साता सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँसम्म झर्‍यो, जुन पाँच महिनायताकै सस्तो हो। तर यतिका लामो समयपछि मूल्य निक्कै सस्तिएको भए पनि बजारमा भने कारोबार औसत रह्यो।

सुन र अमेरिकी डलरको सम्बन्ध ठिक विपरीत रहने गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा बजारमा दैनिक उतारचढाव भइरहने अमेरिकी डलर लामो समय कमजोर हुँदा लगानीकर्ताको विश्वास सुनतर्फ झुकेको थियो। मुद्रा बजार अस्थिर हुँदा सुन नै लगानीकर्ताका लागि सबैभन्दा भरपर्दो रहँदै आएको छ। त्यहीअनुरुप डलर कमजोर भएको अवस्थामा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा उकालो लागेसँगै नेपालमा पनि महँगिएर तोलाको एक लाख रुपैयाँभन्दा पनि माथि पुगेको थियो।

केही महिनायता (खासगरी रुस-युक्रेन युद्ध सुरु भएपछि) रुसको आपूर्ति व्यवधान प्रभावले दोस्रो सर्वाधिक कारोबार हुने युरोको अवमूल्यन सुरु भयो भने डलर झन् झन‍् महँगिन थाल्यो। यससँगै डलर अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा पनि युरोको तुलनामा थप विश्वासको मुद्रा बन्दै अझ बलियो बन्‍दै गएको छ। अहिले दिनहुँजसो डलर झन् झन् महँगो भइरहेको छ। यसकारण सुनको सट्टा डलरमा अन्तर्राष्ट्रिय संस्थागत लगानी बढ्दा डलर थप महँगो र सुन सस्तो बनेको हो।

अन्तर्राष्ट्रिय बजारमा सस्तिँदा नेपालमा पनि सुनको दाम तल झरेको छ। तर मोल उकालो चढ्दै जाँदा खरिदका लागि हतारिएका ग्राहक यतिबेला सस्तो हुँदा भने कारोबारका लागि आउनै छोडेजस्तो भएको व्यवसायीहरु बताउँछन्।

गत साता तोलाको ९३ हजारमा झरेको सुन अहिले ९४ हजार रुपैयाँ हाराहारी छ। यसअघि गत फागुनमा तोलाको ९२ हजारसम्म आइपुगेको थियो। सोपछि पुनः माथि चढ्दै एक महिनाभित्रै ९९ हजार रुपैयाँ पुगेको थियो। त्यसरी माथि चढ्दै जाँदा सुनको मूल्य तोलाको  एक लाख ५ हजार ५ सय रुपैयाँसम्म पुग्यो, जुन हालसम्मकै उच्च हो।

चाडपर्व, विवाह लगायतको सिजन सधैं सुनको व्यापारका लागि पनि सिजन मानिन्छ। त्यसबेला सुनको मूल्य उकालो चढ्ने गरेको छ। तर यसपालि सिजनको सुरुमा बढ्न थालेको मूल्य वैशाखको अन्तिबाटै घट्न थालेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। त्यसयता घट्न थालेको सुनको मूल्य साउनमा आइपुग्दा प्रतितोला ९३ हजारमा झरेको हो। तर मूल्य घटे पनि कारोबार भने सामान्य रहेको सुनचाँदी व्यवसायीहरुले बताएका छन्।

दुई महिनाअघि बिहेको सिजनले प्रतितोला एक लाखभन्दा बढी मूल्य हुँदा सुनचाँदी पसलमा ग्राहकको भीड थियो। तर अहिले त्योभन्दा तोलामा ८ हजार हाराहारीले मूल्य कम हुँदा पनि कारोबारमा सुधार हुन नसकेको व्यवसायीहरुको भनाइ छ। सिजनकै बीच मूल्य र कारोबारो दुवै घट्दै गएको सुनको अब भने अफसिजन सुरु भएको छ।

हाल सुनको मूल्य घट्न थालेपछि उपभोक्ता पनि पर्ख र हेरको अवस्थामा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मभक्त बज्राचार्यले बताए।

देशभर १० किलो पनि छेलोखेलो, बिक्री नहुँदा व्यापारी आफैंले राख्न थाले स्टकमा

महासंघका महासचिव बज्रचार्यका भन्छन्, 'दुई साताअघि सुन तोलामा ९५ हजार भन्दा तल आउँदा उपभोक्ताको भीडभाड बढेको थियो। जसमा दैनिक १० किलो सुनले नपुग्ने अवस्था समेत आएको थियो। अहिले भने देशभर १० केजी सुन बढी हुन थालेको छ।'

बजारमा कारोबार नभए पनि बैंकमा सुनको स्टक नभएको महासचिव बज्राचार्यले बताए। सुनको आयात दैनिक १० केजीको मात्रामा आइरहेको छ। उक्त सुन उपत्यका र बाहिरका जिल्लामा ५/५ केजीका दरले वितरण हुन्छ। वितरण भएको सुन उपभोक्ताले भन्दा पनि सुनचाँदी व्यवसायीहरुले नै स्टक गर्न थालेको हुनसक्ने अनुमान रहेको महासंघको भनाइ छ।

डरको भाउ बढ्न थालेपछि सुनको मूल्यमा उतारचढाव हुन थालेको हो। उपभोक्ताले मूल्य अझै घट्ने भन्दै सुन खरिद नगरी बसेका छन्। यही मौकामा व्यवसायीहरुले बैंकमा भएको सुन धमाधम उठाउन थालेको पाइएको छ।

एक महिनापछि तीज रहेको सुनको माग धेरै हुन्छ। अहिले सुनको खरिद बिक्री कम भएको समयमा व्यवसायीहरुले सिजनको लागि पर्याप्त सुन खरिद गरेर स्टक राख्छन्। यसले गर्दा पनि आयात भएको सुन बैंकमा स्टक नभएको हो।

अहिले सुनको मूल्य घट्दा स्टक राख्ने व्यवसायीहरुलाई फाइदा पुगेको छ। यसअघि महँगो मूल्यमा सुन खरिद गरेर स्टक राख्नुपर्ने अवस्था थियो। महँगो मूल्यमा पनि पर्याप्त सुन नपाइने हुन्थ्यो। यति बेला भने सुनको भाउ घट्दै गएको र व्यापार कम रहेकाले कच्चा सुन खरिद गर्ने व्यवसायीहरुले सुन स्‍टक राख्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell