
काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सञ्चालन गर्न पनि निर्देशन दिएका हुन्।
सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्। घाइतेहरूको भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको छ।
अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।